उपेन्द्र यादव र राजेन्द्र महतोबीच ‘गोप्य’ भेटवार्ता

पार्टी एकीकरणका लागि कार्यविधि बनाई छलफल गर्ने समझदारी

सफल खबर संवाददाता

आइतबार, ०८ असार २०७६, ०८ : २१
उपेन्द्र यादव र राजेन्द्र महतोबीच ‘गोप्य’ भेटवार्ता

काठमाडौं । संविधानमा असन्तुष्टि पक्षबीच तिब्र धुब्रिकरणको प्रयास जारी छ । केही समय अगाडी मात्रै नयाँ शक्ति पार्टी नेपाल र सघंीय समाजवादी फोरम नेपालबीच एकता भएपछि अहिले राष्टिय जनता पार्टीसँगको एकताका लागि पनि अनेक प्रयास शुरु भएको छ । त्यही क्रममा समाजवादी पार्टी नेपालका कार्यकारी अध्यक्ष उपेन्द्र यादव र राजपा नेता राजेन्द्र महतोका बीचमा गोप्य भेटवार्ता भएको छ । भेटवार्ता भने दुई दिन अगाडी जनकपुरको एक होटलमा भएको हो । जनकपुरधाममा आयोजित अन्तराष्ट्रिय योग दिवसको अवसरमा आयोजित कार्यक्रममा सहभागी हुनका लागि उपप्रधानमन्त्री समेत रहेका समाजवादी पार्टीका नेता यादव र राजपा नेता महतो जनकपुरधाम पुगेका थिए  । त्यही अवसरको फाइदा उठाउँदै दुबै नेताले त्यहाँको एक होटलमा अडाई घण्टा लामो गोप्य वार्ता गरेको दुबै पार्टीका नेताहरुले पुष्टि गरेका छन् । सो छलफलमा यादव र महतो दूबै पार्टी एकिकरणका लागि तयार रहेको र त्यसका
लागि कार्यविधि बनाई छलफलमा प्रवेश गर्ने विषयमा समझदारीमा पुगेको यादव
निकट स्रोतले बतायो ।

यी दुई पार्टीका बीचमा तत्कालिन संघिय समाजवादी फोरम र नयाँ शक्ति पार्टी नेपालबिचको एकिकरणभन्दा अघिदेखि नै पनि एकताका लागि छलफल चल्दै आएको थियो । तर पनि प्रक्रिया अगाडी बढ्न सकेको थिएन । तर शुक्रबारको छलफल सकारात्मक भएकोले एकताको सम्भावना बढेको नेताहरुले बताएका छन् । राजपा नेपालले पार्टी एकीकरणका लागि यादव नेतृत्वको पार्टी केपी ओली नेतृत्वको सरकारबाटबाहिरिनु पर्ने बताउँदै आएको थियो । नयाँ शक्तिले पनि उपेन्द्रलाई पार्टी एकताका लागि त्यही शर्त राखेको थियो । तर एकतापछि यस विषयमा निर्णयमा पुग्ने भन्दै नयाँ शक्ति र समाजवादी फोरमले भने एकता गरेका थिए । अहिले यी दुई नेतावीचको गोप्य छलफलमा पनि त्यसैगरी छलफल चलेको नेताहरुले बताएका छन् ।

यादव महतो गोप्य छलफलमा एकिकरणका लागि छिट्टै नै कार्यविधि तय गरी अघि बढ्ने सहमती भएको एक नेताले बताए ।  पार्टी एकीकरणका लागि समाजवादी पार्टी सधैँ सकारात्मक रहेको प्रदेश दुईका आर्थिक मामिला तथा योजना मन्त्री समेत रहेका समाजवादी पार्टी प्रदेश दुईका संयोजक विजयकुमार यादवले सफलखबरसँग बताए । ‘हामी जहिल्यै एकताका लागि सकारात्मक छौं, उहाँहरुसँग छलफल सकारात्मक चल्दैछ,’ यादवले भने । उनले तत्कालिन संघीय समाजवादी फोरम रहेकै बेला देखि राजपासंग एकीकरणको लागि पहल भईरहेको र हाल तत्कालिन नयाँ शक्ति पार्टी नेपालसंग समेत एकीकरण भईसकेकोले एकताको लागि सकारात्मक रहेको बताए । राजपा नेपालका प्रवक्ता कृष्णा सिंहले केही सैदान्तिक विषयमा सहमति जुटे एकता टाढाको विषय नरहेको बताए ।

विगत देखि पार्टी एकीकरणको सवालमा सहमती जुटि सकेकोले केहि सैद्धान्तिक सवालमा भने अझै कुराकानी मिल्न बाँकी रहेको उनको भनाई थियो । उनले समाजवादी पार्टीले राष्ट्रपतीय प्रणाली, पार्टी अध्यक्ष मण्डल र प्रदेश सरकारको मन्त्रिमण्डल फेर्ने लगायतका विषयमा गम्भिर कुराकानी भएको जनाए । प्रदेश दुईको मन्त्रीमण्डल फेरबदलको विषयमा पनि महतो यादव गोप्य छलफलमा कुराकानी भएको स्रोतले बतायो । राजपाका प्रवक्ता सिंहले पनि त्यसको पुष्टि गरे । उनले भने, –‘नेताहरुका बीचमा प्रदेश सरकारको कार्यशैली जनभावना अनुसार अगाडी बढ्न नसकेको बीचमा पनि छलफल भयो । दूबै नेताबिच प्रदेश दुईको मन्त्रीमण्डल फेरबदल गर्ने विषयलाई लिएर समेत छलफल भएको छ ।’ नेपालका राजनीतिक दलहरुको तिव्र धुव्रिकरण बढ्न थालेपछि यी दुई पार्टीलाई पनि पार्टी एकताको तिव्र दबाब परेको छ ।

प्रतिक्रिया दिनुहोस