नयाँ दिल्ली । भारतको विहार प्रदेशमा फैलिएको इन्सेफ्लाईटिस रोगका कारण मृत्यु हुनेहरुको संख्या १६१ पुगेको छ ।
राज्यद्धारा सञ्चालित रेडियो अल इन्डिया रेडियोले शुक्रबारसम्म मृत्यु हुनेको संख्या १६१ पुगेको जनाएको छ ।
मुजफ्फर जिल्लामा फैलिएको इन्सेफ्लाईटिसका कारण मृत्यु हुनेको सङ्ख्या बढ्दै गइरहेको अधिकारीहरुले जनाएका छन् ।
उनीहरुले प्रभावित क्षेत्रमा स्वास्थ्यकर्मी, स्वयम्सेवकलगायतका विषेश सहयोगीहरू परिचालन गरिएको पनि जानकारी दिएका छन् ।
विहारका मुख्य मन्त्री नीतिशकुमारले पनि स्वास्थ्य मन्त्रालयका उच्च अधिकारीहरूसँग पटक पटक छलफल गर्दै रोग फैलिन नदिन र विरामीहरूको उपचारलाई प्रभावकारी बनाउन आवश्यक निर्देशनहरु दिनुभएको छ ।
रोग नियन्त्रणका लागि आवश्यक सवै कार्य गर्न र त्यसका लागि जुनसकै श्रोत साधन परिचालन गर्न पनि स्वास्थ्य विभाग, जिल्ला प्रशासन र चिकित्सकहरूलाई उहाँले निर्देशन दिदै आउनुभएको छ ।
मुख्यमन्त्री नितिशकुमारले इन्सेफ्लाईटिसबाट मृत्यु भएकाको परिवारलाई राहत स्वरुप चार लाख रुपैँया दिने घोषणा यसअघि नै गरिसक्नुभएको छ ।
टाउको दुख्ने, उच्च ज्वरो आउनेलगायतका लक्षण देखिने यो रोग सरुवा रोग भएकाले त्यसबाट बच्न र त्यस्ता लक्षण देखिँदासाथ नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्न चिकित्सक र विभिन्न निकायहरूले आह्वान गरेका छन् ।(रासस/सिन्ह्वा)
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शुक्रबार, ०६ असार २०७६, १९ : ४६
लेखकबाट थप