शक्तिशाली नेताको क्षेत्रमा रकमान्तरको ओइरो

पछिल्लो दुई महिनामा मात्रै २० अर्ब ३९ करोड ६० लाख रुपैयाँ रकमान्तर

सफल खबर संवाददाता

शुक्रबार, ०६ असार २०७६, ०८ : १०
शक्तिशाली नेताको क्षेत्रमा रकमान्तरको ओइरो

काठमाडौं । एउटा शीर्षकमा बजेट छुट्टाउने र खर्च गर्दा अर्काे शीर्षकमा लगेर गर्ने प्रचलन नयाँ होइन । बजेट वक्तब्यका बेला एउटा शीर्षकमा बजेट राखे पनि आर्थिक वर्षको अन्त्यमा खर्च हुन नसकेका शीर्षकका बजेटलाई अर्काे शीर्षकमा रकमान्तर गरेर पहुचवालाहरुले बजेट लग्ने गरेका छन् ।

अहिले पनि चालु आर्थिक वर्षको अन्तिम समयमा त्यही भएको छ । पछिल्लो दुई महिना यता मात्रै झण्डै साढे २० अर्ब भन्दा बढी रकम रकमान्तर भएको पहुचवालाहरुले आफनो स्वार्थ र प्रभावमा लगेका छन् ।

यसरी बजेट आफनो स्वार्थ र प्रभावमा लाने काममा शक्तिशाली नेता, मन्त्री र प्रशासक पहिलो पङक्तिमा छन् । उनीहरुले आर्थिक अनुशासन उलङंघन गदै आर्थिक वर्षको अन्त्यमा अन्य क्षेत्रबाट बजेट कटाएर आफ्नो गृहजिल्ला वा निर्वाचन क्षेत्रमा लगेका छन् । यस्तो काममा प्रधानमन्त्री, मन्त्री देखि शक्तिशाली राजनीतिक दलका नेताहरुसमेत अग्रपङक्तिमा रहेको अर्थमन्त्रालय निकट स्रोतले बतायो ।

वैशाख र जेठ दुई महिनामा मात्रै प्रधानमन्त्री केपी ओली र अर्थमन्त्री युवराज खतिवडाले आफनो गृहजिल्ला झापामा मात्रै ३२ करोड रुपैया रकामान्तर गरेर लगेका छन् । त्यो पैसा निकासा नै भईसकेको छ । झापाका नौँ वटा स्थानिय सडकका लागि वैशाखमा ३० करोड ९७ लाख रुपैया रकमान्तर गरी निकासा गरिएको छ । जुन सडक मन्त्रीपरिषदले गत चैत ११ गते मात्र केन्द्र मातहात ल्याउने निर्णय गदै बजेट रकमान्तर गरेर लगेको हो । जेठ महिनामा पनि प्रधानमन्त्रीको गृहजिल्लामा बजेट रकमान्तर गरेर १ करोड ३४ लाख रुपैया झापा लगिएको छ ।

नेकपाका अध्यक्ष प्रचण्डको गृहजिल्ला चितवनमा पनि बजेट रकमान्तर भएको छ । वैशाख महिनामा ७ ओटा सडकका लागि २१ करोड रुपैया रकमान्तर भएको छ । भौतिक पूर्वाधार मन्त्री रघुविर महासेठको गृह जिल्ला धनुषामा ब्यापारिक मार्ग बिस्तारका नाममा रकमान्तर गरेर ४३ करोड रुपैया निकासा गरेर दिईएको छ ।

अर्थ मन्त्रालयले वैशाख र जेठमा मात्रै २० अर्ब ३९ करोढ ६० लाख रुपैयाँ प्रभावशाली नेताहरुको गृहजिल्लामा रकमान्तर गरेर बजेट पठाएको हो । रकमान्तर भनेको एउटा शीर्षकको बजेट अर्काे शिर्षकमा पठाउनु हो । मनलाग्दी बजेटको रकम रकमान्तर गरेर पहुचवालाहरुले आफनो गृहजिल्लामा लगेपनि अर्थ मन्त्रालयका प्रवत्ता उत्तमकुमार खत्रीले भने वैधानिक रुपमा काम भएको बताए । उनले भने, –‘मन्त्रीपरिषदको बैठकले गरेको निर्णयका आधारमा मात्र खर्च गरिएको छ । जे जति काम भएका छन्, विधिसम्मत नै भएका छन् ।’

सामान्य पार्क र चौतारी निर्माणमा पनि उत्तिकै मात्रामा बजेट रकमान्तर भएको छ । संसदले परित गरेभन्दा फरक क्षेत्रमा र बजेटमै पेश नगरेका रकममा शक्तिको दुरुपयोग गदै बजेट रकमान्तर बढेको हो । एउटा शीर्षकमा विनियोजन गरेर संसदबाट पारित गराउने तर खर्च गर्दा पहुचवालाको स्वार्थ र प्रभावमा बजेट बनाउने कुरा सन्तुलित विकास, समाजिक न्याय र वजेट अनुशासनकै बिरोधमा छ । जसको सत्तारुढ दलकै सांसदहरुले संसदमा बिरोध गरेका छन् । सांसद जर्नादन शर्माले त संसदको रोष्टममै उभिएर आफनो निर्वाचन क्षेत्रको बजेट समेत झापा र धनुषामा लैजान ब्यङग्य नै गरेका थिए ।
 

प्रतिक्रिया दिनुहोस