मुख्यसचिवदेखि सुरक्षा प्रमुखसँग सरकार असन्तुष्ट

मुख्यसचिव लोकदर्शन रेग्मी र शसस्त्र प्रहरी प्रमुख शैलेन्द्र खनाललाई हटाउने सरकारको भित्री तयारी

सफल खबर संवाददाता

बुधबार, ०४ असार २०७६, ०७ : ३८
मुख्यसचिवदेखि सुरक्षा प्रमुखसँग सरकार असन्तुष्ट

काठमाडौं । कर्मचारी देखि सुरक्षा प्रमुखसम्मको नेतृत्वसँग सरकारको असन्तुष्टि बढेको छ । मुख्य सचिव लोकदर्शन रेग्मी, जनपद प्रहरी प्रमुख आइजिपि सर्वेन्द्र खनाल, शसस्त्र प्रहरी प्रमुख शैलेन्द्र खनाल र नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापा सँग सरकार कुनै न कुनै रुपमा असन्तुष्ट छ ।

नेपाली सेनाका प्रधानसेनापति थापासँग सम्बन्धित मन्त्रीको मात्र ब्यक्तिगत असन्तुष्टि रहेपनि अन्यसँग भने सिंगो सरकार नै असन्तुष्टि पोखेको छ । प्रहरी देखि कर्मचारी प्रशासनको नेतृत्व सम्हालेका प्रमुखहरुसँगै सरकारले असन्तुष्टि जनाएपछि अब बस्ने मन्त्रिपरिषद्को बैठकले यस विषयमा केही नयाँ निर्णय लिन सक्ने अनुमान लगाईएको छ ।

कर्मचारीभित्र ‘लोदरे’ का रुपमा चिनिएका मुख्य सचिव लोकदर्शन रेग्मीलाई राजदुत बनाएर पठाउने र उनको ठाउँमा गृहसचिव प्रेमकुमार राईलाई ल्याउने तयारीमा सरकार लागेको छ ।

जनपद र शसस्त्र मध्ये एकको नेतृत्व पनि परिवर्तन गर्ने योजनामा सरकार रहेको खुलेको छ । एक उच्च स्रोतका अनुसार, सरकारले मुख्य सचिव रेग्मीलाई कतारको राजदुत बनाउने तयारी गरेको छ । रेग्मीले राजदुत बन्न अश्वीकार गरे योजना अयोग तिर लगेर थन्काउने योजना पनि सरकारले भित्री रुपमा बनाईरहेको स्रोतले बतायो । खासगरी प्राप्त सूचना प्रधानमन्त्रीसम्म जानकारी नगराउने, मन्त्रिपरिषदले गरेका निर्णयको माइन्यूट गर्न आलटाल गर्ने र सरकारलाई असहयोगी भूमिका खेलेको जस्ता कारण देखाउँदै रेग्मीलाई सरकारले हटाउन खोजेको हो ।

राष्टिय अनुसन्धान विभागले विप्लवसँग सम्बन्धित रहेर काठमाडौं उपत्यकामा हुनसक्ने सम्भावित गतिविधिका विषयमा जानकारी दिएपनि त्यसको बेलैमा सूचना प्रधानमन्त्री तथा गृहमन्त्रालयमा अवगत नगराएको , आफु खाली सेवा सुविधामा मात्र लिप्त रहन पुगेपछि प्रधानमन्त्री रेग्मीसँग असन्तुष्ट बन्दै आएका छन् ।

उनी पाँचतारे होटलहरुमा हुने गोष्ठि सेमिनारमा मात्र रमाउने र सुविधाभोगी मुख्य सचिवका रुपमा कर्मचारीभित्र चिनिन्छन् । बजेट तयारी गर्दा समेत उनकै निर्देशनमा तयारी टिमले होटल द्धारिकाजबाट खाना मगाएर खाएको चर्चा पनि अहिले कर्मचारीवृत्तमा निक्कै नै चर्चा चुलिएको छ ।

प्रधानमन्त्री ओलीका विश्वासप्राप्त सचिव भने प्रेमकुमार राई नै हुन् । त्यही भएर पनि ओलीले रेग्मीलाई हटाएर राईलाई मुख्य सचिव बनाउन खोजेका हुन् । त्यस्तै प्रहरीका दुबै प्रमुखसँग पनि सरकार असन्तुष्ट बनेको छ । असन्तुष्ट बनेपछि सरकारले दुईमध्ये एक प्रहरी प्रमुख फेर्ने तयारी पनि गरेको छ । जनपद प्रहरी भन्दा पनि शसस्त्र प्रहरी प्रमुख फेर्ने तयारीमा सरकार छ । त्यसका लागि अबको मन्त्रिपरिषद बैठकबाट निर्णय लिने सम्भावना रहेको उच्च स्रोतले बताएको छ ।

शसस्त्र प्रहरी प्रुमख आईजिपी शैलेन्द्र खनालका विरुद्ध अख्तियारमा समेत उजुरी परेको र अख्तियारले उनीमाथी छानविनको प्रक्रिया अगाडी बढाउन खोजेपछि त्यही बाहनामा सरकारले उनलाई हटाउने तयारी भित्री रुपमा थालेको स्रोत बताउँछ ।  
जनपदका आईजीपी सर्वेन्द्रको भने आगामी फागुनसम्म कार्यकाल बाकी रहेकोले त्यो अवधीसम्म नफेर्ने सम्भावना रहेको स्रोतले बताएको छ ।

प्रधानसेनापति पूर्णचन्द्र थापासँग भने सरकारको नभई उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलको ब्यक्तिगत असन्तुष्टि देखिएको छ । अहिले मन्त्री पोखरेलले लगेको प्रस्ताव प्रधानसेनापति थापाले नमान्ने र थापाले लगेको कुनै प्रस्ताव मन्त्री पोखरेलले नमान्ने अवस्था बनेको स्रोतले बताएको छ ।

यद्यपी, प्रधानसेनापति थापा र जनपद प्रहरी प्रमुख आइजीपि सर्वेन्द्र खनाललाई भने सरकारले अहिले नचलाउने भएको छ । मुख्यसचिव रेग्मी र शसस्त्र प्रहरी प्रम्ुख शैलेन्द्र खनाललाई मात्र अहिलेको जिम्मेवारीबाट मुक्त गर्ने योजनामा सरकार छ । शैलेन्द्रलाई बिदा नै गरेपनि रेग्मीलाई भने कुनै अर्काे जिम्मेवारीमा सरकारले पठाउन खोजेको वालुवाटार स्रोतले बताएको छ । यो निर्णय सरकारले अबको एक सताभित्र लिन सक्ने सम्भावना रहेको स्रोतले बतायो । 

प्रतिक्रिया दिनुहोस