आज बिहान स्वदेश फर्किदै प्रधानमन्त्री

कतार एयरवेजको विमानबाट स्वदेशका लागि फर्किसकेका छन प्रधानमन्त्री

सफल खबर संवाददाता

आइतबार, ०१ असार २०७६, ०७ : ०४
आज बिहान स्वदेश फर्किदै प्रधानमन्त्री

काठमाडौं । यूरोपको नौँ दिने भ्रमण सकेर प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश फर्किदैछन् । यूरोपका स्वीजरल्यान्ड, वेलायत हुदै फ्रान्स र त्यहाँबाट पूनः स्वीरजरल्यान्ड फर्केका प्रधानमन्त्री आज बिहान काठमाडौं फर्किन लागेका हुन् । प्रधानमन्त्री हिजो साँझ नै स्वीट्जरल्याण्डको जेनेभाबाट कतार एयरवेजको विमानबाट स्वदेशका लागि प्रस्थान गरिसकेका छन् । उनी अहिले बिहान १० बजे र २५ मिनेटमा काठमाडौँ आइपुग्ने उनका प्रेस संयोजक चेतन अधिकारीले बताए ।

ओली स्वीट्जरल्याण्डको जेनेभामा अन्तराष्ट्रिय श्रम सङ्गठन (आइएलओ)को शतवार्षिकीका अवसरमा आयोजित विशेष समारोहमा सहभागी भएका थिए । दुई दिन त्यहाँ बसेर प्रधानमन्त्री ओली बेलायत गएका थिए । बेलायतको अक्सफोर्ड विश्वविद्यालयमा आयोजना गरिएको विशेष समारोहलाई उनले सम्बोधन गरेका थिए । 
यस्तै बेलायतमा छँदा त्यहाँका प्रधानमन्त्री थेरेसा मे र राजकुमार हेनरी चाल्स अल्वर्ट डेभिड ह्यारीसँग भेटघाट गरेका थिए । यस्तै फ्रान्सको पेरिसमा रहँदा त्यहाँका प्रधानमन्त्री इडोर्ड फिलिपसँग प्रधानमन्त्री ओलीले द्विपक्षीय भेटवार्ता गरेका थिए ।

प्रधानमन्त्रीको भ्रमण दलमा प्रधानमन्त्री ओलीकी धर्मपत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्णराज बिष्ट, प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सल्लाहकार डा. राजन भट्टराई, प्रतिनिधिसभाका उद्योग, वाणिज्य, श्रम तथा उपभोक्ताहित समितिका सभापति विमलप्रसाद श्रीवास्तब, सांसद बिन्दा पाण्डेलगायत छन् । कुटनीतिक क्षेत्रका जानकारहरुले भने प्रधानमन्त्री ओलीको भ्रमणलाई तयारी बिनाको भ्रमण भनी टिप्पणी गरेका छन् । पूर्व परराष्टमन्त्री डा भेषवहादुर थापाले भ्रमणको औचित्यतामा सरकारले ध्यान पु¥याउन नसकेको वताए । ‘राजनीतिक नेतृत्वले देशभित्रको समस्या छल्ने गरी बाहिर जानुको कारण संसदमा के जवाफ दिने भन्ने स्पष्ट हुनुपर्छ  । सयर गर्ने शैलीमा भ्रमण गर्नु हुदैन ।’ डा थापाले भने । 

प्रतिक्रिया दिनुहोस