पूर्वशिक्षामन्त्री पौडेलको पार्थिव शरीरमा शीर्ष नेताहरुको अन्तिम श्रद्धाञ्जली

सफल खबर संवाददाता

शुक्रबार, ३१ जेठ २०७६, १५ : ५९
पूर्वशिक्षामन्त्री पौडेलको पार्थिव शरीरमा शीर्ष नेताहरुको अन्तिम श्रद्धाञ्जली

चितवन । पूर्वशिक्षामन्त्री धनीराम पौडेलको पार्थिव शरीरमा नेकपाका शीर्ष नेताहरुले अन्तिम श्रद्धाञ्जली दिएका छन् । माडीमा हजारौँको सहभागीमा निकालिएको शव यात्रामा शीर्ष नेताहरुले अन्तिम श्रद्धाञ्जली दिएका हुन् ।

श्रद्धाञ्जली सभामा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, गृहमन्त्री रामबहादुर थापा बादल, शीर्ष नेताहरु नारायणकाजी श्रेष्ठ, बामदेव गौतम, शिक्षामन्त्री गिरीराजमणि पोख्रेल, नेता अमिक शेरचन, नारायण दाहाल, प्रदेशका सांसदहरु, भरतपुर महानगर प्रमुख रेनु दाहाल, माडी नगर प्रमुख ठाकुर ढकाललगायत हजारौँको सहभागिता रहेको थियो ।

आज बिहान ७ बजे पूर्वशिक्षामन्त्री पौडेलको हृदयघातबाट निधन भएको थियो । उनको निधनले गृहजिल्ला चितवन शोकमा डुबेको छ । 

करेसाबारीमा काम गर्दागर्दै हृदयघातका कारण निधन भएको पौडेलको  निधनले सिंगो देशलाई नै अपुरणीय क्षति भएको महसुस भएको छ । 

बुबा हरिप्रसाद पौडेल र आमा हिमादेवी पौडेलको कोखबाट वि सं २०२२ कार्तिक ४ गते तत्कालीन दरौ गाविस, कुन्चेवारी, स्याङ्जामा जन्मिनु भएका पौडेल २०३७ सालदेखि वामपन्थी विद्यार्र्थी आन्दोलन हुँदै कम्युनिष्ट पार्टीमा सक्रिय रहनुभएको थियो । 

मोहनविक्रम सिंह र निर्मल लामाहरुले नेतृत्व गरेको नेकपा चौथो महाधिवेशनको बिद्यार्थी संगठनको कार्यकर्ताबाट राजनीति सुरु गर्नु भएका पौडेल २०३९ सालमा विद्यार्थी संगठनको चितवन जिल्ला सदस्य, २०४१ मा केन्द्रीय सदस्य हुँदै २०५१ मा तात्कालिन नेकपा एकता केन्द्र विभाजन पछि अनेरास्ववियु क्रान्तिकारीको केन्द्रीय संयोजक समेत चुनिनु भएको थियो ।

दोस्रो संविधानसभामा उनी संविधान सभाको सदस्य बने भने प्रचण्डको दोस्रो प्रधानमन्त्रित्वकालमा शिक्षामन्त्रीको जिम्मेवारी पाएका थिए  ।

प्रतिक्रिया दिनुहोस