खर्च हुनै सकेन नेपाल भ्रमण वर्षको विनियोजित बजेट

१० करोड बजेट विनियोजन भएपनि एक रुपैयाको पनि चेक अहिलेसम्म काटिएन, सुरज वैद्यलाई कार्यक्रम संयोजक बनाएपछि ब्यवसायी नै असन्तुष्ट

सफल खबर संवाददाता

शुक्रबार, ३१ जेठ २०७६, ०७ : २३
खर्च हुनै सकेन नेपाल भ्रमण वर्षको विनियोजित बजेट

काठमाडौं । सन् २०२० मा बीस लाख पर्यटक भित्राउने योजनाका साथ सरकारले त्यसको तयारीकै लागि १० करोड रुपैया बजेट छुट्याएको थियो । पोखराबाट प्रधानमन्त्री केपी ओलीले गत वैशाख १ मा नेपाल भ्रमण वर्ष २०२० को सुभाराम्भ समेत गरेका थिए ।

चालु आर्थिक वर्ष २०७५/०७६ मै भ्रमण वर्षको तयारीका लागि १० करोड रुपैया बजेट विनियोजन भएको थियो । अबको एक महिनामा यो बजेट सरकारले खर्च गरिसक्नु पर्ने छ । तर बजेटबाट एक रुपैयाको पनि चेक अहिलेसम्म नकाटिएको पर्यटन मन्त्रालय स्रोतले बताएको छ ।

भ्रमण वर्ष २०२० कार्यक्रम कार्यान्वयन उपसमिति उपाध्यक्ष तथा राष्ट्रिय कार्यक्रम’ संयोजकमा सरकारले उद्योग वाषिणज्य महासंघका पूर्व अध्यक्ष सुरज वैद्यलाई जिम्मेवारी तोकेको छ । २०७५ कात्तिकमा वैद्यलाई कार्यक्रम संयोजक तोकेपनि वैद्यको सचिवालय ८ महिना पुगिसक्दा सम्म व्यवस्थापन हुन सकेको छैन । सुरज वैधको नेतृत्वमा बनेको पर्यटन भ्रमण वर्ष २०२० प्रभावकारी बन्न नसकिरहेको भन्दै पर्यटन ब्यवसायीहरु नै असन्तुष्टि बन्न थालेका छन् । पर्यटन क्षेत्रमा खासै जानकार नभएका ब्यक्तिलाई कार्यक्रम संयोजक बनाएको भन्दै ब्यवसायीहरु वैद्यको नियुक्ति भएकै दिन देखि असन्तुष्ट थिए ।

त्यसमाथी सार्वजनिक कार्यक्रममै वैद्यले आफुलाई पर्यटनका विषयमा खासै जानकारी नभएको अभिब्यक्ती दिएपछि ब्यवसायीहरु थप असन्तुष्ट बनेका छन् । केही दिन अगाडी मात्रै वैद्यले सोल्टी होटेलमा हिमालयन माल्ट कार्यक्रम भएको थियो । उक्त कार्यक्रममा वैद्यले भ्रमण वर्षको कार्यक्रम कार्यान्वयनको संयोजक आफुलाई तोकिएपनि पर्यटन क्षेत्रका विषयमा आफु खासै जानकार नभएको टिप्पणी गरेका थिए । वैद्यलाई तत्कालिन पर्यटन मन्त्री रविन्द्र अधिकारीसँग पनि खास परामर्श नगरी प्रधानमन्त्री केपी ओलीले सिधै कार्यक्रम संयोजक बनाएका थिए । त्यसयता वैद्यलाई पर्यटन ब्यवसायी कसैको पनि सहयोग देखिदैन ।

भ्रमण वर्षको तयारीका लागि १० करोड बजेट रहेकोमा अहिलेसम्म त्यो बजेटले काम गनुपर्नेमा काम केही भएको छैन । एक रुपैयाको पनि चेक काटिएको छैन । पर्यटन मन्त्रालयका उपसचिव दिपक थापा उनको सचिवालयमा कर्मचारीका रुपमा खटिएका थिए । तर उनी पनि अहिले समितिबाट पून मन्त्रालयमै फर्किएका छन् ।   ‘अब समितिमा काम नगर्ने भन्दै मन्त्रालयको टोली नै फिर्ता भईसक्यो ।’ मन्त्रालय स्रोतले सफलखबरलाई बतायो । वैद्यले समितिको कार्यालय राखेका ठाउको पनि विवाद छ । उनले पहिलेको शिक्षा मन्त्रालय रहेको केशरमहलस्थिल भवनमा समितिको कार्यालय लगेर राखेका छन् । भूकम्पबाट क्षतिग्रस्त रातो स्टिकर लगाएको ठाउमा वैद्यले कार्यालय राखेका थिए । कार्यालय ब्यवस्थापनका लागि वैद्यले अहिलेसम्म करिब ४६ लाख खर्च भएको समेत उनले मन्त्रालयबाट झिक्न सकेका छैनन । उनको ब्यक्तीगत रकमनै अहिले खर्च भएको सा्रेत बताउँछ । स्रोतले भन्यो, –‘वैद्य जी १० करोड रुपैयाबाट खर्च गरौं भनिरहनु भएको छ, तर त्यहाबाट खर्च गर्नका लागि कार्यविधी नै बनेको छैन कसरी खर्च गर्ने ? यसमा पनि विवाद बल्झिरहेको छ ।’

भ्रमण वर्ष मूल आयोजक समिति पर्यटन मन्त्रीको अध्यक्षतामा रहेको भएपनि हाल पर्यटन मन्त्रीको जिम्मेवारीमा प्रधानमन्त्री नै छन् । प्रधानमन्त्री सहित केही पहिले बसेको बैठकले भ्रमण वर्षको बजेट कार्यक्रम पेश गर्ने, खर्च शीर्षक तय गर्ने, सचिवालयले नै कर्मचारी नियुक्त गर्ने, सन् २०२० को जनवरी १ का दिन हुने औपचारिक उद्घाटनको तयारी गर्ने, प्रदेश संरचना बनाउने र यसको जिम्मेवारीको विषयमा सचिवालयले नै खाका बनाएर मूलसमितिमा पेश गर्नेसहितको निर्णय गरेको थियो । त्यही आधारमा प्रधानमन्त्रीले पोखराबाट कार्यक्रमको सुभाराम्भ गरिसकेका छन् ।

सरकारले २०२० मा २० लाख पर्यटक भित्राउने लक्ष्य अगाडि सारेको छ । सन् २०१८ मा नेपालमा ११ लाख ७२ हजार पर्यटक भित्रिएका छन् । यसलाई बढाए र सन् २०१९ मा १५ लाख र सन् २०२० मा २० लाखको योजना अगाडि सारिएको छ ।

प्रतिक्रिया दिनुहोस