अंकरा । सिरियाको कुर्दिस लडाकु समूह, वाइपीजीका विरुद्धमा कारबाहीलाई निरन्तरता दिएको टर्कीले उक्त समूहलाई कुनै पनि हालतमा समर्थन नगर्न अमेरिकालाई टर्कीले आग्रह गरेको छ । टर्कीले उक्त लडाकु समूहविरूद्धको कारबाहीलाई मङ्गलबार पनि तीव्र पारेको थियो । टर्कीले बुधबार पुनः पछिल्लो पटक अमेरिकालाई आग्रह गरेको प्राप्त समाचारमा जनाइएको छ ।
टर्कीले सिरियास्थित कुर्दिस लडाकू समूहविरूद्ध केही दिन यतादेखि हवाई र स्थलगत रुपमा समेत सैन्य कारबाही जारी राखेको छ । उक्त कारबाहीपछि अन्तर्राष्ट्रिय समुदायले उसलाई संयमता अपनाउन आग्रह पनि गरेका समाचारमा जनाइएको थियो । उत्तरी सिरियाको अफ्रिन नामक सहरमा टर्कीले हवाई आक्रमण पनि गरेको थियो । सो आक्रमणको सिरियाले कडा शब्दमा निन्दा गरेको छ ।
टर्कीले उक्त सहरमा कैयौँ युद्धक विमानबाट हवाई आक्रमण गरेको छ । सो आक्रमणका बारेमा टर्कीले स्पष्टीकरण दिँदै आतङ्ककारीहरुमाथि कारबाही गरिएको जनाएको छ । राष्ट्रपति रिसेप तैयप एर्दोगानका प्रवक्ताले टर्कीको फौजविरूद्ध कुर्दिस लडाकूहरूले अमेरिकाले दिएका हातहतियारहरुको प्रयोग गरिरहेको बताएका छन् ।
टर्कीको सैनिकले सिरियाको आफ्रिन क्षेत्रबाट वाइपीजी लडाकूहरूलाई लखेट्ने प्रयास जारी राखिरहेको जनाएको छ । यसै क्रममा पछिल्ला केही दिनयता आएर भने सिरियाका कैयौँ गाउँहरु टर्कीको नियन्त्रणभित्र परेका पनि समाचारमा जनाइएको छ । टर्कीले उक्त वाइपीजी संगठनलाई आतङ्ककारी समूह र कुर्दिस्तान वर्कर्स पार्टी ९पीकेके० को विस्तारित एक संगठनका रूपमा विगत लामो समयदेखि नै हेर्दै आएको बताइन्छ ।
त्यस्तै सो संगठनले पनि पीकेकेसँग आफ्नो प्रत्यक्ष सम्बन्ध रहेको विषय अस्वीकार गर्ने गरेको छ । उसले टर्कीले आफूमाथि लगाएको सो आरोप निराधार रहेको पनि बताएको छ । यता टर्की सरकारले यहाँ इस्लामिक स्टेटविरूद्धको संघर्ष पूरा भइसकेको भन्दै वाइपीजीसँगको साझेदारी अन्त्यगर्न अहिले अमेरिकासमक्ष माग गरिरहेको समाचारमा जनाइएको छ ।
संयुक्त राष्ट्रसंघ र अमेरिकाले टर्कीले गरेको भनिएको सो कारबाहीका क्रममा सर्वसाधारणको ज्यान जानेगरी कुनै पनि कारबाही नहोस् भनी संयमताका लागि आग्रह गरेको हो । त्यसैगरी उसले सर्वसाधारण नागरिक हताहत हुन नदिन र उक्त समूहविरूद्धको कारबाही सीमित समय र क्षेत्रभित्र रहेको सुनिश्चित गर्न आग्रह गरेको छ । त्यसैगरी फ्रान्सले पनि जतिसक्दो चाँडै युद्धविराम गर्न र संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्मा त्यसबारे आकस्मिक छलफल गर्न माग गरेको छ । तर यस विषयमा राष्ट्रसंघले भने कुनै पनि प्रतिक्रिया दिएको छैन ।
उक्त विद्रोही समूहले टर्कीबाट गरिएको आक्रमणको प्रतिकार गरिरहेको जनाएको छ । टर्कीले गरेको यस हवाई हमलाबाट कैयौँ सर्वसाधारण मारिएका अधिकारवादीहरूले जनाएका छन् । सिरियामा जारी रहेको करिब पाँचवर्ष लामो युद्धको अन्त्यका लागि अवलम्बन गर्नुपर्ने उपायका बारेमा उनीहरूले छलफल गर्नुभएको रुसी विदेश मन्त्रालयका अधिकारीले जनाएका छन् । सिरियामा गएको करिब पाँच वर्षदेखि जारी हिंसामा परी कम्तीमा पनि चार लाख नागरिकको ज्यान गएको छ । सो हिंसामा परी त्यहाँका दशौँ लाख नागरिक घरबारविहीन वा शरणार्थी भएका छन् ।(रासस/एएफपी)
प्रतिक्रिया दिनुहोस