चितवनमा पाक्नै लागेको केराखेतीमा क्षति

सफल खबर संवाददाता

शुक्रबार, १७ जेठ २०७६, ११ : ४६
चितवनमा पाक्नै लागेको केराखेतीमा क्षति

चितवन । चितवनमा बिहीबार साँझ आएको हावाहुरीले पाक्नै लागेको केराखेतीमा क्षति पु¥याएको छ । चितवन केरा उत्पादक संघका अध्यक्ष घननाथ महतोका अनुुसार पाक्नै लागेको केरा हावाले ढलाउँदा किसानलाई ठूलो नोक्सान भएको छ ।  
उनले पश्चिम चितवनका पटिहानी, पार्वतीपुर र जगतपुर क्षेत्रमा करिब साढे ५ सय बिघामा केराखेती लगाइएको बताए ।  अधिकांशको केराखेतीमा क्षति पुगेको छ । स्थलगत अवलोकन र किसानसँगको भेटघाटपछि मात्रै बास्तविक क्षति थाहा हुने महतोले जानकारी दिए । पश्चिम चितवनमा ५० जना किसान केरा खेतीमा आबद्ध रहेको उनी बताउँछन् । 
केरा किसान नेत्रप्रसाद पोडेलले आफ्नो पार्वतीपुरमा सात बिघा क्षेत्रफलमा लगाइएको अधिकांश केराको बोट ढलेको बताए । उनले भने, ‘अबको १५ दिनमा काटेर बेच्ने तयारी गरिरहेको केरा बिहीबार साँझ आएको हावाहुरीले क्षति पुगेको छ । पौडेलले पार्वतीपुरमा सात बिघा र जगतपुरमा दुई बिघा गरी नौ बिघामा केराखेती गरिरहेको बताए । आफूसँगै अन्य किसानको केरा बगानमा पनि धेरै क्षति पुगेको उनले जानकारी दिए । 
केरा उत्पादक संघका अनुसार केरामा आत्मनिर्भरतर्फ गइरहेको चितवनमा केरा खेतीतर्फ किसानको आकर्षण बढीरहेको छ । अघिल्लो वर्ष २७ सय बिघामा केरा खेती भएको थियो भने यसवर्ष तीन हजार बिघामा केरा खेती भइरहेको छ ।  जिल्लामा केराखेतीमा करिव ७ सय बढी किसानहरु संलग्न रहेका छन । अधिकांश किसानले केरा खेतीको बिमा गरेका छन् । तर केही किसानले बिमा नगर्दा हरेक बर्ष हावाहुरीका कारण ठूलो क्षति हुँदा बिमा नगर्ने किसान मर्कामा परेका छन् । 
 

प्रतिक्रिया दिनुहोस