एक वर्षमा एक पटक पनि बसेन नेकपा केन्द्रीय समितिकै बैठक

पार्टीको राजनीतिक प्रतिवेदन र राष्ट्रिय अभियानसम्म अलपत्र

सफल खबर संवाददाता

शुक्रबार, १७ जेठ २०७६, ०७ : २३
एक वर्षमा एक पटक पनि बसेन नेकपा केन्द्रीय समितिकै बैठक

काठमाडौं । सत्तारुढ दल नेकपाको केन्द्रीय समिति बैठक एक वर्षमा एक पटक पनि बस्न सकेको छैन । गत वर्ष ३ जेठमा तत्कालिन एमाले र माओवादीबीच पार्टी एकता भएर नेकपा बनेयता केन्द्रीय समितिको वैठक एक पटक पनि बस्न नसकेको हो ।

केन्द्रीय समिति नेकपाको ४४१ सदस्यीय छ । तत्कालिन एमाले तर्फका २४१ र माओवादी तर्फका २०० जना नेताहरुलाई समेटेर उक्त कमिटि गठन गरिएको थियो ।

९ जेठमा एक पटक सवै केन्द्रीय सदस्यहरुलाई नागरिकता सहित बालुवाटार वैठकमा आउन आमन्त्रण गरिएको थियो । त्यसबेला केन्द्रीय सदस्यहरुको नागरिकता पार्टी दर्ताका लागि निर्वाचन आयोगमा बुझाउनु पर्ने भएकाले नेताहरुलाई प्रधानमन्त्री निवास बालुवाटार बोलाईएको थियो ।

त्यसपछि केन्द्रीय सदस्यहरुको खोजी अहिलेसम्म भएको छैन ।

‘केन्द्रीय समितिकै साथीहरुका बीचमा आपसी चिनजान सम्म पनि राम्रोसँग गर्न पाइएको छैन,’ एक केन्द्रीय सदस्यले सफल खबरसँग भने, – ‘एक वर्षमा एक पटक पार्टी बैठकमा जान पाइएन ।’

नेकपाको विद्यानलाई मान्ने हो भने केन्द्रीय समितिको बैठक ६ महिनामा एक पटक बस्नुपर्ने हुन्छ । तर बिधानले ब्यवस्था गरे अनुसार अहिलेसम्म दुई पटक केन्द्रीय समितिको बैठक वस्नु पर्ने हो ।

नेकपा सरकारमा छ । यो बीचमा सरकारले अनेक निर्णय प्रक्रिया गर्ने देखि विभिन्न राजनीतिक घटना, परिघटना पनि देखा परेका छन् । यसको विषयमा पार्टीको ठोस धारणा बनाउने र अन्तिम निर्णय लिने जिम्मा पाएको केन्द्रीय समितिलाई कुनै धारणा बनाउन बैठक आह्रवानको आवश्यकता पार्टी अध्यक्ष केपी ओली र प्रचण्डले ठानेका छैनन । अझ खासगरी प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीको अनिच्छाका कारण नेकपा बैठक बस्न नसकेको एक नेताले बताए ।

त्यसो त पछिल्लो पटक सचिवालयको बैठक नै समेत पटक पटक प्रभावित हुन थालेको छ ।

२ जेष्ठमा सचिवालय बैठक बसेयता सचिवालय बैठक अझै बस्न सकेको छैन । पछिल्लो पटक अहिले २० जेष्ठमा सचिवालय बैठक बोलाईएको छ । महासचिव विष्णु पौडेलले सचिवालय बैठक २० जेठमा बोलाईएको पुष्टि गरे ।

२ जेठमा जनवर्गीय संगठनको भागवन्डा र नेतृत्व चयनका लागि बसेको बैठक ५ जेठमा पोलिटब्यूरो गठन र केन्द्रीय विभाग, आयोगहरुको गठन र केन्द्रीय नेताहरुको कार्यविभाजनका लागि बैठक बस्ने गरी सचिवालयको बैठक बोलाईएको थियो ।

बिहान ११ वजे बोलाईएका बैठक उक्त समयमा बस्न नसक्ने भन्दै त्यही दिन साझ ४ वजेलाई बोलाईएको थियो । तर त्यो पनि बस्न नसकी स्थगित भयो ।

त्यसपछि पून १८ गते सचिवालय बैठक बस्ने भनी बोलाईएको थियो । तर फेरी अहिले अध्यक्ष तथा प्रधानमन्त्री ओलीको ब्यस्ततालाई कारण देखाउँदै २० गतेसम्मलाई स्थगित गरिएको छ ।

‘सचिवालय बैठक बसाउनै नेताहरुलाई मुश्लिक परिरहेको बेला केन्द्रीय समिति बैठक त कता हो कता,’ ति केन्द्रीय सदस्यले भने, –‘हाम्रो मात्र होइन, स्थायी समितिकै बैठकको समेत हालत उस्तै छ ।’

स्थायी समिति बैठक पनि पुस १३ यता बस्न सकेको छैन । त्यसबेला पार्टीभित्र चर्काे आवाज उठेपछि र २२ पुसमा सचिवालय कै चार नेताहरु बरिष्ठ नेताद्दय माधव नेपाल, झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ र सचिवालय सदस्य बामदेव गौतमले पार्टी बैठक समय पालना नगरेको भन्दै बहिष्कार गरेपछि परेको प्रेसरका आधारमा बोलाईएको थियो ।

त्यसपछि अहिलेसम्म स्थायी समितिकै बैठक पनि नेकपाले बोलाउन सकेको छैन । पुस महिनाभित्र संगठनात्मक कामका लागि ९ सदस्यीय कार्यदल बनाई गृहकार्य गर्ने र त्यसले बनाएको प्रतिवेदन सचिवालयलाई बुझाएपछि पून पुसको अन्तिमसम्म स्थायी समितिकै बैठक बलेलाएर संगठनात्मक निर्णय लिने गरी वैठक टुंङ्गिगएको थियो । तर त्यसपछि स्थायी समितिको बैठक बसेको छैन ।

बर्षदिनसम्म नेताहरुको कार्यविभाजन नहुँदा केन्द्रीय सदस्यहरु नै बेरोजगार बस्नु परेको अबस्था नेकपामा अहिले छ ।
केन्द्रीय सदस्य बिष्णु रिजाल भन्छन्, –‘पार्टी एकताका बाँकी कामहरू पूरा गर्न जतिजति ढिलाइ हुँदैछ, त्यतित्यति नया‘ समस्याहरू देखा पर्दैछन् । जेठ १८ गतेका लागि डाकिएको सचिवालय बैठक २० गते सारिएको छ, केन्द्रीय कमिटीको बैठक एक बर्षमा एक पटक पनि बोलाइएको छैन, स्थायी समितिको बैठक भएको पाँच महिना बितिसकेको छ । कम्तीमा पोलिट्ब्युरो गठन र केन्द्रीय सदस्यको कार्यविभाजन गरिदिएको भए माथि जति सिंगौरी खेले पनि तल्ला तहमा अरूले काम त पाउँथे ।’

राजनीतिक प्रतिवेदन नै छैन
पार्टी एकताका आधारहरु समेटिएको राजनीतिक प्रतिवेदन समेत नेकपाको अहिलेसम्म छैन । के आधारमा नेपालका दुई ठूला कम्युनिष्ट पार्टीले पार्टी एकता गरे भन्ने आफ्नै पार्टीका नेता कार्यकर्ताले आधिकारिक रुपमा पार्टीको दस्ताबेजका आधारमा पढन र सुन्न पाएका छैनन ।

राजनीतिक प्रतिवेदन तयार पार्नका लागि नेकपाले बरिष्ठ नेता माधव नेपालको संयोजकत्वमा एउटा कार्यदल वनाएको थियो । नेपाल नेतृत्वको कार्यदलले सचिवालयमा प्रतिवेदन बुझाई छलफल समेत भएको थियो ।

तत्कालिन एमालेको जनताको बहुदलीय जनबाद (जवज) , माओवादीको एक्काइशौं शताब्दीको जनबाद र माओवाद तिन ओटै बिषयलाई महाधिवशेनसम्म स्थगित गर्ने र बहसमा लैजाने तर तत्कालका लागि समाजवाद को रणनीति पूरा गर्ने कार्यनीतिक स्टेपका लागि जनताको जनवादलाई कार्यनीति बनाएर जाने योजना सहितको प्रतिवेदन तयार भएको थियो ।

सचिवालयले पारित गरिसकेको उक्त प्रतिवेदन दुई अध्यक्षले एक पटक अध्ययन गरेर देखिएका भाषिक समस्या संसोधन गरेर अन्तिम रुप दिने र प्रकाशन गरी सार्बजनिक गर्ने निर्णय गत वर्षकै जेठ ६ को सचिवालय बैठकले निर्णय गरेको थियो ।

तर, त्यसयता अहिलेसम्म राजनीतिक प्रतिवेदन सार्बजनिक भएको छैन । प्रधानमन्त्री ओलीले प्रतिवेदन सार्वजनिक गर्न छाप्न पठाउने विषयमा इच्छा देखाईरहेका छैनन । अध्यक्ष प्रचण्डले पटक पटक यो बिषयमा प्रधानमन्त्री समेत रहेका ओलीलाई ध्यानाकर्षण गराएपनि उनले इच्छा देखाईरहेका छैनन । जसकाकारण नेता कार्यकर्ताले पार्टीको दस्ताबेज अध्ययन गर्न पाएका छैनन ।

अलपत्र राष्टिय अभियान
पार्टी एकता गर्दा शुरुमा तीन महिनाभित्र पार्टी एक्ता सक्ने र देशभर एकताको सन्देश दिन राष्टिय अभियान चलाउने निर्णय नेकपाको थियो । तर पार्टीको जिल्ला समिति र जनबर्गीय संगठनसम्मको नेतृत्व चयनकै लागि नेकपालाई ठ्याक्कै एक बर्ष लाग्यो । गत पुसको स्थायी समितिले पुस मसान्तसम्म एकताको काम सकेर माघ र फागुन २ महिना सरकारको कामको रक्षा गर्ने, पार्टी संगठन सुदृढ गर्ने र एकताको सन्देश गाँउ तहसम्मै पु¥याउने योजना बनाएको थियो । तर त्यो अभियान नेकपाले अहिलेसम्म सञ्चालन गर्न सकेको छैन । अब कहिले भन्ने पनि टुंगो छैन । महासचिव पौडेलले नेताहरुको कार्यविभाजन टुंङ्गिएसङ्गै अभियान पार्टीको सञ्चालन हुने दाबी गरे । तर त्यो कहिलेबाट भन्ने ठेगान छैन ।

प्रतिक्रिया दिनुहोस