समाजवादको नयाँ मोडलमा दृढतापूर्वक अगाडि बढ्न प्रचण्डको अपिल

सफल खबर संवाददाता

बुधबार, १५ जेठ २०७६, १० : ३०
समाजवादको नयाँ मोडलमा दृढतापूर्वक अगाडि बढ्न प्रचण्डको अपिल

काठमाडौं । नेकपा अध्यक्ष तथा पूर्व प्रधानमन्त्री प्रचण्डले २१ औं शताब्दीमा विश्व मानब जातिलाई समाजवादको नयाँ मोडल दिने अभियानमा दृढतापूर्वक अगाडि बढ्न अपिल गरेका छन् । १२ औं गणतन्त्र दिवसमा शुभकामना सन्देश जारी गदै अध्यक्ष प्रचण्डले इतिहासले सुम्पिएको दायित्व पूरा गर्ने र जिम्मेवारी बहन गर्ने काम अवसर र चुनौति दुवै भएको पनि वताएका छन् ।

गणतन्त्र प्राप्ती ऐतिहासिक भएको भन्दै यसले नेपाल र नेपालीको लागि गौरव र कम्युनिष्टहरुका लागि प्रेरणाको बिषय भएको भन्दै प्रचण्डले संविधानमा व्यवस्था गरिएको मौलिक हकसम्बन्धि व्यवस्था, सङ्घीय शासन प्रणाली, समावेशी–समानुपातिक प्रणाली, सामाजिक न्यायजस्ता प्रावधानले समाजवादको तयारीमा लाग्न मार्गप्रशस्त्र गरेको पनि वताएका छन् ।

निरंकुश र एकात्मक व्यवस्थाको अन्त्य गरेर संघीय लोकतान्त्रिक गणतन्त्र प्राप्त भएको दिन सुखद दिन भएको प्रचण्डको भनाई छ । उनले यो उपलब्धी प्राप्तीका लागि लडने सवैमा शुभकामना ब्यक्त गदै गणतन्त्र प्राप्तिको आन्दोलनमा आफ्नाो जीवन उत्सर्ग गर्नुहुने महान् सहिदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली, सम्पूर्ण बेपत्ता योद्धाहरुप्रति उच्च सम्मान र घाइते योद्धाहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।

सामन्ती, निरङ्कुश एवं एकात्मक व्यवस्थाको अन्त्य गर्दै देशमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको १२ वर्ष पूरा भएको छ । सर्वप्रथम म गणतन्त्र दिवसको सुखद् अवसरमा स्वदेश तथा बिदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा सुख, शान्ति, समृद्धि र निरन्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्दछु । यस ऐतिहासिक अवसरमा गणतन्त्र प्राप्तिको आन्दोलनमा आफ्नाो जीवन उत्सर्ग गर्नुहुने महान् सहिदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु, सम्पूर्ण बेपत्ता योद्धाहरुप्रति उच्च सम्मान व्यक्त गर्दछु । सम्पूर्ण घाइते योद्धाहरुको शीघ्र स्वास्थ्य लाभको कामना व्यक्त गर्दै गणतन्त्रको आन्दोलनमा आ–आफ्नो ठाउँबाट सहयोग र सद्भाव व्यक्त गर्नुहुने सम्पूर्ण नेपालीमा हार्दिक आभार व्यक्त गर्दछु ।

मुलूकमा विद्यमान सामन्ती, निरङ्कुश तथा एकात्मक सत्ताको अन्त्य र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापना नेपालको राजनीतिक इतिहासमा युगान्तकारी परिवर्तन हो । जनताको वीरतापूर्ण सङ्घर्षकै बलमा मुलूकमा प्रगतिशील, गतिशील एवं समाजवादउन्मूख संविधान निर्माण भएको छ । संविधानमा व्यवस्था गरिएको मौलिक हकसम्बन्धि व्यवस्था, सङ्घीय शासन प्रणाली, समावेशी–समानुपातिक प्रणाली, सामाजिक न्यायजस्ता प्रावधानले समाजवादको तयारीमा लाग्न मार्गप्रशस्त्र गरेका छन् । यो नेपाल र नेपालीका लागि गौरवको विषय हो, सम्पूर्ण कम्युनिष्टहरुका लागि प्रेरणाको विषय हो ।

नेपाली जनताले समाजवादको आधार तयार पार्ने ऐतिहासिक दायित्व कम्युनिष्ट क्रान्तिकारीहरुको काँधमा सुम्पिएका छन् । वामपन्थी सरकार र नेपाल कम्युनिष्ट पार्टीमार्फत् समृद्धि र समानतासहित समाजवादको आधार तयार पार्नु हाम्रै जिम्मेवारी हुन आएको छ । इतिहासले सुम्पिएको यस गुरुत्वपूर्ण जिम्मेवारीलाई वहन गर्नु हाम्रा लागि अवसर र चुनौति दुबै हो । तसर्थ, म यस अवसरमा २१ औं शताब्दीमा विश्व मानव जातिलाई समाजवादको नयाँ मोडल दिने अभियानमा दृढतापूर्वक अगाडि बढ्न सम्पूर्ण कम्युनिष्ट क्रान्तिकारी र प्रगतिशील शक्तिलाई हार्दिक अपील गर्दछु ।

प्रतिक्रिया दिनुहोस