चितवनमा मनाइयो गणतन्त्र दिवस

सफल खबर संवाददाता

बुधबार, १५ जेठ २०७६, ०९ : ५८
चितवनमा मनाइयो गणतन्त्र दिवस


चितवन । गणतन्त्र दिवस मूल समारोह समिति चितवनले प्रभातफेरीलगायतका विविध कार्यक्रमहरु गरेर गणतन्त्र दिवस मनाएको छ ।

भरतपुरको चौबिसकोठीबाट निस्केको प्रभातफेरी गेष्ट हाउस चौरमा आएर सभामा परिणत भएको थियो । सभाका प्रमुख अतिथि ३ नं प्रदेशका सांसद घनश्याम दाहाल अविनासले गणतन्त्रले राजनीति स्थायीत्व कायम गरेको र अब आर्थिक क्रान्ति ल्याउन बाँकी रहेको बताउनुभयो ।

उहाँले सम्पूर्ण परिवर्तनकारी आन्दोलनमा चितवनले नेतृत्वदायी भूमिका खेल्दै आएको स्मरण गर्दै भन्नुभयो, ‘विकास, सुशासन र समृद्धि हासिल गर्ने कार्यमा उदाहरणीय बन्नुपर्छ, अबको यात्रा शान्ति र समृद्धि नै हो, त्यही यात्रामा हामी हिँड्न जरुरी छ ।’

गणतन्त्रका उपलव्धिलाई संस्थागत गर्दै, राष्ट्रले लिएको समृद्ध नेपाल, सुखी नेपालीको नारालाई साकार पार्न र जनताको जीवनस्तरलाई माथि उठाउन हामी सबैको दायित्व भएको उहाँको भनाइ थियो । कार्यक्रममा उहाँले विप्लव समूहतर्फ संकेत गर्दै लहडको भरमा जनयुद्ध हाक्न नसकिने बताउनुभयो । 

अर्का प्रदेश सांसद विजय सुवेदीले अब विकास र जनताको इच्छा पूरा गर्ने बाटोमा अग्रसर हुनुपर्ने बताउनुभयो । गणतन्त्रलाई नेपाली जनताले अपनत्व ग्रहण गरेको हुनाले अब समृद्धिको यात्राको दिशामा हिँड्नुपर्ने बताउनुभयो । 
कार्यक्रमका विशिष्ट अतिथि भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले नेपाली जनताको बदिलानीपूर्ण संघर्षबाट प्राप्त गणतन्त्र नेपाली जनताको साझा सम्पति भएको बताउनुभयो ।

 

उहाँले कवि भूपी शेरचनको ‘हँदैन बिहान मिर्मिरेमा तारा झरेर नगए बन्दैन मुलुक दुई चार सपुत मरेर नगए’ कवितालाई स्मरण गर्दै ज्ञात अज्ञात सहिदहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्नुभयो । उहाँले अबको मुख्य दायित्व विकास, सुशासन र समृद्धि नै भएको बताउँदै भन्नुभयो, ‘जनजनले स्मरण गर्न सक्ने गरी परिवर्तन गर्न जरुरी छ, त्यो यात्रामा सिंगो भरतपुर महानगरपालिका हिँडिरहेको छ ।’ 

कार्यक्रम नेकपाका जिल्ला अध्यक्ष यमबहादुर परियारले गणतन्त्रलाई संस्थागत गर्दै समृद्धिको यात्राको विकल्प नभएको बताउनुभयो । उहाँले समाजवादी समाज निर्माणपछि बल्ल सम्पूर्ण नेपालीले बराबर प्रतिफल प्राप्त गर्न सक्नेछन् । 
नेपाली कांग्रेसका जिल्ला सभापति जितनारायण श्रेष्ठले गणतन्त्रलाई संस्थागत गर्न सबैको सामूहिक दायित्व भएको बताउनुभयो । उहाँले जनतामा इच्छाहरु पूरा हुन नसकेको र यसलाई व्यवहारबाट पुष्टि गरिनुपर्ने बताउनुभयो ।

प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले सुशासन र सेवा प्रवाहलाई चुस्त दुरुस्त बनाउन प्रमुख दायित्व भएको बताउनुभयो । जिल्ला समन्वय समिति चितवनका सभापति कृष्णराज डल्लाकोटीको अध्यक्षतामा कार्यक्रम भएको थियो । 

यस्तै गणतन्त्र दिवसको दिन भरतपुर कारागारमा रहेका कैदीबन्दीहरुलाई गुल्कोज तथा फलफूल वितरण गरिएको थियो । चितवन उद्योग संघको संयोजनमा अण्डा उत्पादक संघ चितवनले अण्डा वितरण गरेको थियो ।

प्रतिक्रिया दिनुहोस