चार बर्ष पछि आजबाट खुल्ने भयो तातोपानी नाका

मालबाहक ट्रकमात्र आवत–जावत गर्न पाउने, मानिसहरुलाई भने तत्काललाई आवत–जावतमा रोक

सफल खबर संवाददाता

बुधबार, १५ जेठ २०७६, ०८ : ३८
चार बर्ष पछि आजबाट खुल्ने भयो तातोपानी नाका

काठमाडौं । चार बर्ष अगाडी देखि बन्द रहेको नेपाल चीनको प्रमुख ब्यापारिक केन्द्र तातोपानी नाका आज बाट औपचारिक रुपमा खुल्ने भएको छ । २०७२ साल बैशाख १२ गतेको विनाशकारी भूकम्प गएदेखि सिन्धुपाल्चोकको तातोपानी नाका बन्द अवस्थामा थियो ।

सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङले उद्योग, बाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादब र चिनियाँ अधिकारीले आज औपचारिक रुपमा नाका खोलेको शुभारम्भ गर्नेे कार्यक्रम रहेको बताइन् ।

चिनियाँ र नेपाल सरकारको निरन्त्रको सक्रियतामा नाका खुल्न लागेको हो । नाका खुलाउने सिलसिलामा मंगलबार नै नेपालस्थित चिनियाँ राजदूत हउ यान्छी तातोपानी पुगेकी छिन् । तत्कालका लागि तातोपानी नाकाबाट मालबाहक ट्रकमात्र आवात–जावत हुने छन् । मानिसहरुलाई आवत–जावत गर्न भने तत्काल दिइने छैन । चीनबाट सामान बोकेर आउने ट्रकहरु नाकाभन्दा झण्डै ७ किलोमिटर वर लार्चामा निर्माण गरिएको सुक्खा बन्दरगाहमा खोलिने छन् । र, त्यहीँबाट व्यापारीहरुले आफ्ना सामान अन्यत्र ढुवानी गर्न पाउनेछन् ।

नाका खोल्नका लागि सिन्धुपाल्चोकका सांसद अग्निप्रसाद सापकोटाले पनि निरन्तर पहल कदमी लिएका थिए । उनले गत चुनावी घोषणा पत्रमा तातोपानी नाका खोल्नका लागि आफुले जुनकुनै पहल गर्ने बताएका थिए ।  त्यसपछि पनि उनले चिनियाँ पक्ष र नेपालको सरकारसँग पटक पटक नाका खोल्नका लागि निर्णायक भूमिका खेलेका थिए ।

प्रतिक्रिया दिनुहोस