आर्थिक वर्ष २०७६/०७७ बजेट आज सार्वजनिक हुँदै

वृद्दभत्ता र कर्मचारीको तलब बढ्ने , यस्तो आउँदैछ बजेटमा नयाँ योजना ?

सफल खबर संवाददाता

बुधबार, १५ जेठ २०७६, ०८ : १९
आर्थिक वर्ष २०७६/०७७ बजेट आज सार्वजनिक  हुँदै

काठमाडौं । आगामी आर्थिक बर्षको लागि सरकारले संसदमा बजेट प्रस्तुत गदैछ । संघीय संसदका दुबै सदनको संयुक्त बैठकमा आज दिउँसो ४ वजे अर्थमन्त्री युवराज खतिवडाले वजेट प्रस्तुत गर्न लागेका हुन् ।

दुई तिहाई जनमत सहितको सरकारले बाम चुनावी घोषणापत्रमा केन्द्रीत रहेर लोकप्रिय बजेट प्रस्तुत गर्ने अपेक्षा गरिएको छ । अघिल्लो बर्षको बजेट लोकप्रिय ल्याउन नसकेको भनी आलोचना भएको सन्र्दभमा अर्थमन्त्री खतिवडाले यो वर्ष पपुलर बजेट ल्याउने अपेक्षा गरिएको छ ।

कर्मचारीको तलब र सामाजिक सुरक्षा भत्ता बढाउने गरी बजेट आउने मन्त्रालय स्रोतले जनाएको छ । बजेट आउनु २४ घण्टाअघि सिलिङ ८४ अर्ब रुपैयाँले बढाइएको स्रोतले वतायो । हिजो अबेर रातीबाट रातो किताब छाप्न पठाइएको छ ।

राष्ट्रिय योजना आयोगले बजेटको सिलिङ अन्तिम सयममा बढाइ दिएको छ । आयोगको स्रोत समितिले बजेटको सिलिङ १५ खर्ब ७७ अर्ब ७० करोड रुपैयाँ पु¥याईदिएको छ ।

योजना आयोगका उपाध्यक्ष प्रा. डा. पुष्पराज कँडेलको अध्यक्षतामा बसेको समितिको बैठकले बजेटको सिलिङ परिबर्तन गरेको हो । आगामी आर्थिक बर्षका लागि यसअघि १४ खर्ब ९३ अर्ब रुपैयाँको सिलिङ दिइएको थियो । मागको दबाब थेग्न नसकेपछि सिलिङ परिवर्तन गरिदिएको आयोग स्रोतले वताएको छ ।

बिषयगत मन्त्रालयहरुबाट यसअघि दिएको सिलिङभन्दा कम्तिमा दुई खर्ब रुपैयाँ धेरै बजेट चाहियो भनेर माग गरेको देखिएको छ’ स्रोत समिति स्रोतले भन्यो, ’त्यसैलाई मध्यनजर गर्दै बजेटको सिलिङ परिवर्तन गरेको हो ।

अर्थ मन्त्रालयले बजेटको आकार टुंगो लगाइसकेपछि बसेको स्रोत समितिको बैठकले यसअघि मध्यकालीन् खर्च संरचनामा उल्लेखित अंकलाई नै नयाँ सिलिङ तय गरेको हो । योजना आयोगले प्रकाशन गरेको खर्च संरचनामा आगामी आर्थिक वर्षमा १५ खर्ब ७७ अर्ब ७० करोड रुपैयाँको बजेट अनुमान गरेको थियो ।

अर्थ मन्त्रालयले ब्यय अनुमानको बिवरण (रातो किताब) छपाईका लागि पठाइसकेको छ । यसैमा बजेटको आकार उल्लेख हुने भएकाले आगामी आर्थिक बर्षको बजेट नयाँ सिलिङकै वरिपरीको आकारमा आउने अनुमान गरिएको छ ।

के के आउँदैछन नयाँ बजेटमा ?

क) बृद्धभत्ता हजार रुपैयाँसम्म बढाइने

बजेटमा समाजिक सुरक्षा अन्र्तगत बृद्धभत्ता हजार रुपैयाँसम्म बढाइने प्रस्ताव छ । हाल बृद्धभत्ता दुई हजार रुपैयाँ छ । बाम घोषणापत्रमा बृद्धभत्ता ५ हजार रुपैयाँ दिने उल्लेख थियो । अर्थमन्त्री युवराज खतिवडाले गत बर्ष बृद्धभत्ता नबढाएपछि आलोचना भएको थियो । वृद्धभत्ता नबढेको भन्दै नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तथा अन्य शीर्ष नेताले अर्थमन्त्रीको खुलेरै आलोचना गरेका थिए । हाल २४ लाख ९८ हजार ५ सय ३२ जनाले सामाजिक सुरक्षा भत्ता पाउँदै आएका छन् ।

ख) कर्मचारीको तलब बढ्ने

बजेटले निजामित कर्मचारीको तलब बढाउने भएको छ । अर्थमन्त्री खतिवडामाथि कर्मचारीको तलब बढाउन पनि दबाब छ । मंगलबार मात्रै मुख्य सचिव नेतृत्वको तलब पुनरावलोकन समितिले २५ प्रतिशतसम्म तलब वृद्धिको सिफारिस गरेको छ ।

निजामती सेवा ऐन–२०४९ को दफा २७ ले मुख्य सचिव संयोजक, अर्थ सचिव र सामान्य प्रशासन मन्त्रालयका सचिव सदस्य रहेको तलब पुनरावलोकन समिति ब्यवस्था गरेको छ । यो समितिले हरेक दुई वर्षमा कर्मचारीको तलब पुनरावलोकन गर्नुपर्ने छ । अर्थमन्त्रीले वजेटमा कम्तीमा २० प्रतिशतसम्म कर्मचारीको तलव बढाउने अनुमान गरिएको छ ।

ग) बेरोजगार भत्तामा नयाँ स्किम

सरकारले ‘युवा परिचालन वर्ष’ घोषणा गर्दै बेरोजगार भक्तादेखि वितरणका केही कार्यक्रम वजेट मार्फत ल्याउन खोजेको छ । प्रधानमन्त्री रोजगार कार्यक्रम र युवालक्षित कार्यक्रमका लागि पनि केही वितरण गर्ने गरी वजेट आउने अनुमान गरिएको छ ।

घ) स्वास्थ्य बिमा कार्यक्रमको निरन्तरता

ज्येष्ठ नागरिकका लागि सुरु भएको स्वास्थ्य बिमा कार्यक्रमलाई निरन्तरता दिने अनुमान छ । क्यान्सरजस्ता रोग पहिचानका लागि निःशुल्क स्वास्थ्य परीक्षण खोप कार्यक्रम बजेटमा आउने बताईएको छ । कृषि अनुदान परिमार्जन हुनेछ । कृषकले सोझै पाउने गरी पचास प्रतिशतसम्म अनुदान पाउने कार्यक्रम बजेटमा ल्याउन लागिएको स्रोतले बतायो ।

 

प्रतिक्रिया दिनुहोस