भरतपुर महानगरको वातावरण दिवस : फलफूल रोप्नेदेखि हाइ वे सरसफाइसम्म

सफल खबर संवाददाता

मंगलबार, १४ जेठ २०७६, १७ : ०९
भरतपुर महानगरको वातावरण दिवस : फलफूल रोप्नेदेखि हाइ वे सरसफाइसम्म


चितवन । चितवनको भरतपुर महानगरपालिकाले विश्व वातावरण दिवस–२०७६ को अवसरमा वृक्षरोपणदेखि हाइ वे सरसफाइसम्मका कार्यक्रम सार्वजनिक गरेको छ । 

महानगरपालिकाले आज पत्रकार सम्मेलन गरी जेठ २२ गतेसम्मका वातावरण क्षेत्रका विविध कार्यक्रमहरु सार्वजनिक गरेको हो । पत्रकार सम्मेलनमा भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद सुवेदीले भरतपुर महानगरपालिकालाई स्मार्ट सिटी बनाउन वातावरण क्षेत्र पनि स्वच्छ, सफा र हरियाली हुुनुपर्ने हुनाले त्यसलाई साकार पार्न सरसफाइदेखि वृक्षरोपण र जनचेतनाका कार्यक्रमहरु ल्याएको बताउनुभयो । 

पत्रकार सम्मेलनमा प्रमुख प्रशासकीय अधिकृत सुवेदीले भन्नुभयो, ‘भरतपुर महानगरलाई वातावरण क्षेत्रमा पनि नमुना बनाउनको लागि स्मार्ट सिटीको अवधारणालाई सघाउ पु¥याउन यस्ता कार्यक्रमको भूमिका ज्यादै महत्वपूर्ण हुने छ ।’
महानगरपालिकाले जेठ १५ गते उद्योग वाणिज्य संघ चितवनको सभाहलमा भोलेन्टियर्स ओरिन्टेसन कार्यक्रम गर्ने भएको छ । जुन कार्यक्रममा चितवनमा रहेका ३२ वटा भोलेन्टियर्स संघसंस्थाहरुको सहभागिता हुने छ । बुधबार बेलुका ३ बजेदेखि ५ बजेसम्मको समयमा भोलेन्टियर्स ओरिन्टेसन कार्यक्रम हुने महानगरले जनाएको छ । 

यस्तै जेठ १६ गते बिहीबार बिहान भरतपुर महानगरपालिकाका सरकारी कार्यालयहरुका परिसरमा र उपयुक्त सार्वजनिक स्थानहरुमा फलफूल रोप्ने कार्यक्रम तय भएको प्रशासकीय अधिकृत सुवेदीले बताउनुभयो । 

यसैगरी जेठ १७ गते शुक्रबार महानगरभरिका विद्यालयहरुमा वातावरण स्वच्छ, सफा र हरियालीसम्बन्धी विविध कार्यक्रम हुनेछ । पत्रकार सम्मेलनमा प्रमुख प्रशासकीय अधिकृत सुवेदीले जेठ १८ गते शनिबार महानगरपालिकाका सम्पूर्ण वडा कार्यालयहरुमा सरसफाइ गरिने बताए । उनले भने, ‘यो कार्यक्रम बिहान सात बजेदेखि ९ बजेसम्म हुने छ । 
जेठ १९ गते आइतबार राप्ती तटीय क्षेत्र सरसफाइ तथा भरतपुर अस्पताल रोडमा हरितपार्क बनाइने अभियान चलाइने छ । राप्ती तटीय क्षेत्र बिहान र हरितपार्कको काम साँझ गरिनेछ । 

महानगरका अनुसार जेठ २० गते सोमबार हाइ वे सरसफाइका कार्यक्रम हुनेछ । पोखरा बसपार्कदेखि गोन्द्राङसम्म सरसफाइका कार्यक्रम हुनेछ । प्रशासकीय अधिकृत सुवेदीका अनुसार जेठ २० गते नै सार्वजनिक सवारी साधनमा निरीक्षण तथा सरसफाइ सम्बन्धमा जनचेतनाका कार्यक्रम पनि हुनेछ । 

जेठ २१ गते मंगलबार बिहान साइकल ¥याली तथा जनप्रतिनिधिबीच स्लो साइकल रेसको कार्यक्रम हुनेछ । साइकल ¥याली महानगरको कार्यालयदेखि गेष्ट हाउस चौरसम्म हुनेछ । जनप्रतिनिधिबीच स्लो साइकल रेस पनि २१ गते बिहान गेष्ट हाउस चौरमा नै हुने भरतपुर महानगरले जनाएको छ । 

२१ गते नै उद्योग वाणिज्य संघ चितवनमा जन्कआर्ट प्रतियोगिता र सेभ द इन्भारोमेन्ट कार्यक्रम हुने छ । २२ गते पुल्चोकमा प्रभातफेरी र महानगरको कार्यालयमा समापन कार्यक्रम हुनेछ । 


 

प्रतिक्रिया दिनुहोस