काठमाडौं । सरकारको काम कारबाहीलाई चेक गर्ने भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले गठन गरेको छायाँ सरकार सैद्धान्तिक रुपमा स्वागतयोग्य काम हो । अन्तर्राष्ट्रिय रुपमा हेर्ने हो भने सरकारको काम कारबाहीलाई सही दिशामा लैजान पनि त्यस्ता छायाँ संयन्त्रले महत्वपूर्ण काम गर्ने आशा गरिन्छ ।
छायाँ सरकार गठन गरेर जुर्मुराएकोजस्तो देखिएको प्रमुख प्रतिपक्ष नेपाली काँग्रेस वास्तवमा सदनमै हराएको छ । केही जनपक्षीय एजेण्डा उठाउला त भन्ने अपेक्षा विपरीत उसले संसदमा समेत प्रभावकारी भूमिका निर्वाह गर्न सकेको छैन । आन्तरिक खिचातानीमा रमाएको काँग्रेसले जनताका लागि केही गर्नु पर्ने आवश्यकता नै छैन ।
काँग्रेस त खडेरीमा छरिएको दुबो जस्तै हो भन्ने आम मानिसको बुझाई छ । काँग्रेसका भोटर अरुबेला काँग्रेसलाई गाली पनि गर्छन्, तर मतदानको दिनमात्रै काँग्रेसका लागि मतदान गर्छन् । यो काँग्रेसको आमचरित्र हो । तर काँग्रेसले सोही चरित्रलाई समेत कायम राख्न सकेको छैन । जनताको पक्षमा बोल्ने हिम्मत समेत काँग्रेसले राखेको छैन ।
पछिल्ला दिनमा ओली नेतृत्वको वर्तमान सरकारले लोकतन्त्रका आधारभूत मूल्य र मान्यता विपरीत हुने गरी केही नयाँ कानूनको तयारी गरेको छ । त्यसको विरुद्धमा जनमत बनाउने, बहस छलफल गर्ने, सरोकारवाला भएका व्यक्ति वा निकायलाई आफ्नो विश्वासमा लिन समेत काँग्रेसले सकेको छैन ।
काँग्रेसले आफूलाई लोकतन्त्रवादी बताउँछ । काँग्रेसले आफूलाई प्रजातन्त्रको मसिहा ठान्ने गरेको छ । तर जनताको विपक्षमा हुने गरी सत्तापक्षले गरेको गलत भन्दाको प्रतिवाद गर्न समेत काँग्रेस असफल नै भएको छ । काँग्रेसमा नेतृत्वको चरम संकट छ ।
पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा सम्पूर्ण काँग्रेसको सभापति बन्न सकेका छैनन् । महामन्त्री डा. शशांक कोइराला लगायतका केही व्यक्ति हिन्दू अहंकारमा डुबेका छन् । सभापति देउवालाई ठेगान लगाउँछु भन्नेमात्रै उनीहरुको सोच र चिन्तन रहेको छ । तर व्यवहारिक तथा सैद्धान्तिक रुपमा नै काँग्रेस असफल भएको देखिन्छ ।
लोकतन्त्रको नाममा बहस गर्दै हिँडिदिने अर्जुननरसिंह केसी, वरिष्ठ नेता रामचन्द्र पौडेल लगायतले अब सरकारले केही गर्न सक्दैन भन्दै हिँडे पनि कुनै प्रभावकारी कदम भने चाल्न सकेका छैनन् ।
लामो समयदेखि सरकारमा बस्न नपाएर छट्पटाएको काँग्रेसले सरकारको कमजोरीका कारण पछिल्ला दिनका सकारात्मक दिशा दिन सकिने केही कामको भने सुरुवात गरेको छ । राजनीतिक रुपमा हरेक स्थानमा असफल देखिएको नेपाली काँग्रेसले पार्टीभित्रको झगडालाई मिलाउने नाममा छायाँ सरकार बनाएको छ । यसलाई सकारात्मक रुपमा लिनु पर्छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १४ जेठ २०७६, १६ : ५३
लेखकबाट थप