किन छोडिन् करिश्मा मानन्धरले पार्टी ?

बाबुरामले उपेन्द्र्रसँग पार्टी एकता गरेको दोश्रो दिन नै भट्टराईको निवासमै पुगेर करिश्मा मानन्धरले पार्टी छाडेको मौखिक जानकारी दिएकी थिइन् ।

सफल खबर संवाददाता

मंगलबार, १४ जेठ २०७६, ०७ : २९
किन छोडिन् करिश्मा मानन्धरले पार्टी ?

काठमाडौं । नायिका करिश्मा मानन्धरले पार्टी छोडेकी छिन । नयाँ शक्ति पार्टीबाट राजनीति गरेकी मानन्धरले नयाँ शक्ति र संघीय समाजवादी फोरमका बीचमा पार्टी एकतापछि पार्टी छोडेकी हुन् ।

पार्टी एकता कार्यक्रममा राष्टिय सभामा आयोजित कार्यक्रममा मञ्चको पहिलो लहरमा अन्य नयाँ शक्तिकै पार्टी नेताहरुसँग बसेकी उनले त्यसपछि भने पार्टी छोडने निर्णयमा पुगेकी हुन् ।

यद्यपी उनले विगत एक बर्ष देखि पार्टीमा सक्रिय राजनीति आफुले गर्न नसकेको पनि बताएकी छिन् । एक वर्ष देखि एसएइएको तयारीमा समय खर्चेका कारण पार्टीलाई प्रर्याप्त समय दिन नसकेकी र अहिले पार्टी छोडने निर्णयमा पुगेको करिश्माले बताइन् ।

४ बर्ष अगाडी वावुरामले नयाँ शक्ति पार्टी निर्माण गरेपछि उनी राजनीतिमा प्रबेश गरेकी थिइन् ।

‘मैले मौखिक रुपमा पार्टीबाट राजीनामा दिइसकेकी छु’ अभिनेत्री करिश्माले भनिन् ‘लिखित रुपमा राजीनामा दिन बाँकी रहेको छ ।’

राजनीति किन छोडन खोजेको भनी सफल खबरको प्रश्नमा उनले भनिन्, –‘व्यक्तिगत केही महत्वपूर्ण कामहरु गर्नु पर्ने भएकोले ।’

नयाँ शक्ति र सघीय समाजवादी फोरमपछि वनेको समाजवादी पार्टी नेपालमा दुवै पक्षका केन्द्रीय समितिलाई मिलाएर नयाँ केन्द्रीय समिति बनाईएको छ । यो केन्द्रीय समितिमा उनको नाम पनि समाबिष्ट छ । तर उनले उक्त पार्टी आफुले छोडेको बताइन् ।

नयाँ शक्तिमै रहेका देवेन्द्र पराजुली, कल्पना धमला, मदन राई, नारायण तिवारी  लगायत नेताहरुले  पनि डा बाबुराम  भट्टराईसँग पार्टी एकताका क्रममा सम्मानजनक एकता नभएको, प्रर्याप्त छलफल नगराएको लगायत ६ वुँदे असहमति जनाईरहेका छन् ।

त्यो असन्तुष्टिको टोलीमा पनि करिश्मालाई चासो लागेको छैन । उनी आफु आफ्नै धुनमा रहेकोले अलग्गै पार्टी छोडने निर्णयमा पुगेको बताएकी हुन् ।

पार्टी एकतापछिको दुई दिन पछि २५ वैशाखमा करिश्माले संघीय परिषदका अध्यक्ष डा वावुराम भटटराईलाई उनकै निवासमा पुगी पार्टी छोडने निर्णयमा आफु पुगेको भन्दै मौखिक राजीनामा दिएकी थिइन् । भट्टराईलाई निवासमा भेटन पुगेकी करिश्माको तस्विर बाबुरामका सहयोगी विश्वदिप पाण्डेले सार्वजनिक नै गरेका थिए ।
राजीनामापछि करिश्माले आफु राजनीतिबाट भने अलग नहुने पनि प्रष्टाएकी छिन् । उनले भनिन्, –‘पार्टीमा आबद्ध भएर मात्र राजनीतिज्ञ होइन । हरेक अन्यायविरुद्ध लड्छु । स्वतन्त्र रूपमा मेरै क्षेत्र (ललितपुर)बाट चुनाव उठ्न पनि सक्छु । थपडी बजाउनका लागि मात्र राजनीतिमा लागेको होइन, मेरो पनि आफ्नो भूमिका हुन्छ । त्यसको खोजी गर्छु ।’

पछिल्लो समय पार्टीमा नेताहरुसँग छलफल समेत नगरी एकता प्रक्रियामा गएकोमा उनलाई पनि चित्त वुझेको देखिदैन । यद्यपी, उनले एकता सकारात्मक कुरा भएको भन्दै त्यसका विषयमा थप टिप्पणी अहिले नगर्ने बताइन् ।

प्रतिक्रिया दिनुहोस