सरकारले देखायो रवैया : एकातिर प्रतिबन्ध, अर्कोतिर विभूषित

सफल खबर संवाददाता

सोमबार, १३ जेठ २०७६, १७ : ०७
सरकारले देखायो रवैया : एकातिर प्रतिबन्ध, अर्कोतिर विभूषित

काठमाडौँ । सरकारको दोहोरो चरित्र स्पष्ट देखिएको छ । एकातिर विप्लव नेतृत्वको नेकपाका गतिविधिलाई प्रतिबन्ध लगाएको छ भने अर्कोतिर सोही पार्टीका नेताहरुलाई विभूषित गर्न लागेको छ । 
सरकारले २०६४ र २०७० को संविधानसभा निर्वाचनमा निर्वाचित भएका सांसदहरुलाई सविधानसभा पदकले सम्मान गर्न लागेको हो ।
प्रत्यक्ष र समानुपातिक गरी कुल ११ सय ९ जनालाई सरकारले सम्मान गर्न लागेको हो । सरकारले आफैंले प्रतिबन्ध लगाएको समूहका नेताहरुलाई पदकबाट विभूषित गर्न लाग्दा सरकारले द्वेध चरित्र देखाएको अनुभव भएको छ । 
गृहमन्त्रालयले तयार गरेको यस सूचीमा विप्लव समूहका स्थायी समिति सदस्य खड्कबहादुर विश्वकर्मा पनि छन् । पूर्वमन्त्रीसमेत रहेका विश्वकर्मा २०६४ सालमा कालिकोट–१ बाट संविधान सभा सदस्यमा निर्वाचित भएका थिए ।
त्यस्तै सुचीमा विप्लब समुह कै अर्का नेता सन्तोषकुमार बुढा मगर पनि छन् । उनले २०६४ सालमा रोल्पा–२ बाट चुनाव जितेका थिए । त्यस्तै पहिलो संविधानसभा निर्वाचनमा गोरखाबाट समानुपातिक सभासद उमा भुजेललाई पनि सरकारले सम्मान गर्ने छ । उनी हाल विप्लव समूहकी पोलिटब्यूरो सदस्य छिन् । 
मन्त्रालयले तयार पारेको सूचीमा पहिलो नम्बरमा राष्ट्रपति विद्यादेवी भण्डारी, दोस्रो नम्बरमा प्रधानमन्त्री केपी ओली, तेस्रो नम्बरमा सभामुख कृष्ण बहादुर महरा लगायत रहेका छन् । विभूषण समारोह गणतन्त्र दिवसको दिन राष्ट्रपति कार्यालय शितल निवासमा आयोजना हुने भएको छ । 

प्रतिक्रिया दिनुहोस