किन पुग्यो एनसीसी बैंकको चालीस करोड डुब्ने अवस्थामा ?

सफल खबर संवाददाता

सोमबार, १३ जेठ २०७६, १५ : १०
किन पुग्यो एनसीसी बैंकको चालीस करोड डुब्ने अवस्थामा ?

काठमाडौं । एनसीसी बैंकले गाभेको तत्कालीन एपेक्स डेभलपमेन्ट बैंकका कारण रु ४० करोड डुब्ने देखिएको छ । 
एनसीसीसँग मर्ज हुनुअघि एपेक्सले लगानी गरेको रु २ अर्ब २० करोड कर्जामध्ये गाभिएपछि एनसीसीले रु १ अर्ब २० करोड असुल गरेको छ । बाँकी रकममध्ये ६० करोडको अचल सम्पत्ति जफत गरी लिन सफल भएपनि ४० करोड रुपैयाँ भने डुब्ने अवस्थामा पुगेको छ । 
बैंकका एक सञ्चालकका अनुसार एनसीसीले ६० करोड बराबरको अचल सम्पत्ति जफत गरी लिन सफल भएको बताए पनि त्यो वास्तविकताभन्दा बाहिर छ । कुनै पनि रकम फिर्ता हुन सकेको छैन । बाँकी ४० करोड नउठ्ने देखिएको छ । सकेसम्म उठाउने प्रयास भइरहेको बताइए पनि यथार्थमा काम नभएको र न्यौपानेले नै रोकेको बताइन्छ ।
बैंकका अध्यक्ष रहेका उपेन्द्रकेशरी न्यौपानेले डुबेको रकम उठाउने भन्दा पनि थप रकम लुकाउन लागिरेको बताइन्छ । उनले बैंकलाई केवल आफूलाई नाफा हुने संस्थाको रुपमा विकास गरेको सम्वद्ध स्रोतले जानकारी दिएको छ । बैंकमा निक्षेप जम्मा गरेका लाखौं निक्षेपकर्ताको पैसामाथि लुट खसोट गरेको न्यौपानेले पछिल्ला दिनमा लुटपाटका घटनालाई समेत संस्थागन गराएको बैंकका एक सञ्चालकले जानकारी दिए । 
अधिकांश कर्जाको धितो नभएको र भएकाको पनि कमसल भएकाले असुली हुने सम्भावना ज्यादै कम रहेको स्वयम न्यौपाने नै बताउँदै हिँडेका छन् । बैंकको ४० करोड कर्जा डुबेको अवस्थामा पुगेको छ । एपेक्सले दरबार मार्ग, लोकन्थली, इटहरी, सुर्खेत र नेपालगञ्ज शाखाबाट अनियमित प्रक्रियाबाट कर्जा प्रवाह गरेकोमध्ये केही रकम भने उठ्ने भएको छ । 
ठूलो रकम असुल भएकाले अब एनसीसीलाई समस्या नहुने हल्ला गराएर पानीमाथिको ओभानो बन्ने प्रयास गरिएको छ । एनसीसीको खराब कर्जा ३.२६ प्रतिशत छ । खराब कर्जाका कारण धेरै रकम प्रोभिजन गर्नुपर्दा एनसीसीको नाफामा असर परेको बताइन्छ ।
नगद र धितो लिलाम गरी १ अर्ब ८० करोड असुली भइसकेको बताइए पनि त्यसको कुनै हिसाबकिताब नरहेको बैंकका एक उच्च कर्मचारीले बताए । ती कर्मचारीका अनुसार धितो पनि लिलाम गरेर असुल गरिने चर्चा चले पनि सो अनुसारको काम हुन गाह्रो छ । 
एनसीसीको खराब कर्जा ३ दशमलव २६ प्रतिशत छ । खराब कर्जाका कारण धेरै रकम प्रोभिजन गर्नु पर्दा एनसीसीको नाफामा असर परेको दाबी न्यौपाने समूहको छ । नगद र धितो लिलाम गरी १ अर्ब ८० करोड रुपैयाँ असुली भइसकेको भनिए पनि लेखा परीक्षणमा यो विषयलाई समावेश गरिएको छैन । धितो पनि लिलाम गरेर असुल गरिने विषयलाई लेखा परीक्षणमा समावेश गरिएको छ । 
खोला र बगरको जग्गा धितो र नक्कली ऋणी खडा गरी एपेक्सका तत्कालीन अध्यक्ष विष्णुप्रसाद धितालले दुरुपयोग गरेको कर्जा नउठेको हो । नेपाल प्रहरीको अनुसन्धान ब्युरो (सीआईबी) ले धिताललगायत कर्जा दुरुपयोगमा संलग्न सबैलाई पक्राउ गरी बैकिंङ कसुरमा कारबाही गरिरहेको छ । 
एनसीसीले एपेक्सको झन्डै १ अर्ब ५२ करोड रुपैयाँ कर्जा उठ्न नसक्ने देखिएपछि नेपाल राष्ट्र बैङ्कले कर्जा नोक्सानीको व्यवस्था गर्न निर्देशन दिएको थियो । एनसीसीले एपेक्ससहित इन्टरनेसनल डेभलपमेन्ट, इन्फ्रास्ट्रक्चरलगायत चार विकास बैंकलाई गाभेको थियो । 
चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा एनसीसीले १ अर्ब १६ करोड रुपैयाँ नाफा गरेको छ । एनसीसीले ८४ करोड रुपैयाँ सेयरधनीलाई लाभांश वितरण गर्न सक्ने देखिएको हल्ला गरेपनि बैंक करिब करिब डुब्ने अवस्थामा पुगेको छ । बैंकमा निक्षेप जम्मा पारेका लगानीकर्तालाई जोगाउने हो भने तत्काल राष्ट्र बैंकले हस्तक्षेप गर्नुपर्ने देखिएको जानकारहरुको भनाइ छ । 

प्रतिक्रिया दिनुहोस