उपराष्ट्रपति पुन भियनामा, आज अष्ट्रियाका राष्ट्रपति भेट्नु हुँदै

सफल खबर संवाददाता

सोमबार, १३ जेठ २०७६, १२ : ३५
उपराष्ट्रपति पुन भियनामा, आज अष्ट्रियाका राष्ट्रपति भेट्नु हुँदै

भियना । अष्ट्रिया भ्रमणमा आउनु भएका उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले आज अष्ट्रियाका राष्ट्रपति अलेक्जेण्डर भान द बेलेनसँग शिष्टाचार भेट गर्दै हुनुहुन्छ । उपराष्ट्रपति पुनले स्थानीय समय अनुसार आज (सोमबार) अपरान्ह पौने एक बजे राष्ट्रपति भवन हफवर्गमा अष्ट्रियाका राष्ट्रपति बेलेनसँग शिष्टाचार भेट गर्नुहुनेछ ।
उपराष्ट्रपति पुन अष्ट्रियाका राष्ट्रपति अलेक्जेण्डर भान द बेलेनको निमन्त्रणामा मंगलबार आयोजित जलवायु सम्बन्धी आर–२० विश्व शिखर सम्मेलनमा सहभागी हुन आइतबार राति भियना आईपुग्नु भएको हो । उहाँलाई भियना अन्तर्राष्ट्रिय विमानस्थलमा अष्ट्रियाका लागि नेपाली राजदूत प्रकाश कुमार सुबेदीले स्वागत गर्नुभएको थियो । 

उपराष्ट्रपति पुनको भ्रमण टोलीमा उहाँकी धर्मपत्नी हस्तमाली पुन, वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेत लगायत सहभागी हुनुहुन्छ । भ्रमण टोलीमा उपराष्ट्रपतिका नीजि सचिव सुकबहादुर रोका, अष्ट्रियाका लागि नेपाली राजदूत प्रकाश कुमार सुबेदी, परराष्ट्र मन्त्रालयका सहसचिव भरतराज पोखरेल, उपराष्ट्रपति कार्यालयका सहसचिव तेजराज पाण्डेलगायत हुनुहुन्छ ।
उपराष्ट्रपति मंगलबार भियनामा आयोजित आर–२० विश्व शिखर सम्मेलनमा सहभागी भएर नेपालको धारणा राख्नु हुनेछ । उहाँ आजै भियना अन्तर्राष्ट्रिय केन्द्रको ४० औं वार्षिकोत्सव कार्यक्रममा सहभागी हुनुहुनेछ । 

प्रतिक्रिया दिनुहोस