घिसीङ काण्ड: छानविन समिति गठन, डिएसपी ज्ञवालीलाई हेडक्वार्टर पठाईयो

सफल खबर संवाददाता

शुक्रबार, २७ बैशाख २०७६, २० : ३६
घिसीङ काण्ड: छानविन समिति गठन, डिएसपी ज्ञवालीलाई हेडक्वार्टर पठाईयो

चितवन । इलाका प्रहरी कार्यालय रत्ननगरमा भएको घट्नाको विषयमा छानविन गर्न समिति गठन गरीएको छ । शुक्रवार जिल्ला प्रशासन कार्यालय चितवनमा बसेको सर्वपक्षीय बैठकबाट सहयक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा १२ सदस्यीय समिति गठन गरीएको हो । हिरासतमा रहेका समिर घिसीङले विहिवार झुण्डिएर गरेको आत्महत्या प्रयास र प्रहरी कार्यालयमा भएको तोडफोडका विषयमा छानविन गर्न सर्वपक्षीय समिति गठन गरीएको प्रमुख जिल्ला अधिकारी जितेन्त्र बस्नेतले जानकारी दिए । 
समितिमा राजनैतिक दलका प्रतिनिधि, पिडित परिवारका प्रतिनिधि, रत्ननगर नगरपालिका र कालिका नगरपालिकाका सम्बन्धीत वडाका वडा अध्यक्ष, जिल्ला प्रहरी कार्यालयका प्रतिनिधि, राष्ट्रिय अनुसन्धन कार्यालयका अनुसन्धान अधिकृत र जिल्ला प्रशासन कार्यालयको प्रतिनिधि सदस्य रहेका छन । प्रजिअ बस्नेतका अनुसार समितिले एक साताभित्र छानबिन प्रतिवेदन तयार गरी बुझाउने छ । 
बस्नेतका अनुसार बैठकले समिति गठनसहित विभिन्न ५ वटा निर्णय गरेको छ । गम्भिर अवस्थाका घिसिङको थप उपचारका लागी गृहमन्त्रालयसंग समन्वय गर्ने, पक्राउ परेका ३७ जनालाई प्रक्रिया पुरा गरी तत्काल रिहाई गर्ने तथा यहि विषयलाई लिएर आन्दोलन नगर्ने सहमति पनि भएको छ । 
यस्तै बैठकले ईलाका प्रहरी कार्यालय रत्ननगरमा कार्यरत प्रहरी नायव उपरिक्षक दयानिधि ज्ञावलीलाई जिल्लामा तान्ने निर्णय पनि गरेको छ । प्रजिअ बस्नेतका अनुसार ज्ञवालीलाई जिल्लामा बोलाउने निर्णय भए पनि उनि यसअघिनै हेडक्वार्टरमा सरुवा भईसकेकाले रमाना लिएर पठाईएको छ । अब  इप्रका रत्ननगरमा अर्को व्यवस्था नभए सम्म प्रहरी निरीक्षकको कमाण्डमा कार्य सम्पादन गर्ने निर्णय गरीएको छ । 
कालिका नगरपालिका १ का समिर घिसिंङ् २६ गते थुनुवा कक्षमा रहेको शैचालयमा झुण्डिएको अवस्थामा फेला परेका थिए । त्यसपछि उनका आफन्तले प्रहरीको कमजोरीका कारण घट्ना भएको भन्दै प्रहरी कार्यालयमा तोडफोड गर्नुका साथै राजमार्ग अवरोध गरेका थिए । घिसिङ बैशाख २५ गते चोरी अभियोगमा पक्राउ परेका थिए । अहिले उनको गम्भिर अवस्थामा भरतपुरस्थित पुरानो मेडिकल कलेजमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरिक्षक दुर्गाराज रेग्मीले जानकारी दिएका छन ।

प्रतिक्रिया दिनुहोस