पैसा असुलीमा मात्र केन्द्रित भएपछि एसएसपी वसन्त लामाको सरुवा

सफल खबर संवाददाता

विहीबार, २६ बैशाख २०७६, ०९ : ५६
पैसा असुलीमा मात्र केन्द्रित भएपछि एसएसपी वसन्त लामाको सरुवा

काठमाडौं । महानगरिय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी वसन्त लामा लागूऔषध ब्यूरोमा सरुवा भएका छन् । लेनदेन र चेक बाउन्सका मुद्दामा बढी चासो देखाएका कारण ९ महिनामै सरुवा भएका छन । लामा २०७५ साउन ३० मा काठमाडौं परिसरमा सरुवा भएका थिए ।

आइजीपी सर्वेन्द्र खनाल आगामी साउनमा मात्र काठमाडौं परिसर र अपराध महाशाखाका प्रमुखलाई परिवर्तन गर्ने पक्षमा थिए । तर परिसरका प्रमुख एसएसपी वसन्त लामा शान्ति सुरक्षा कायम गर्ने र अपराध कायम गर्नतिर भन्दा पनि असुलीमा मात्र केन्द्रित भएपछि उनलाई अहिलेनै  सरुवा गरिएको हो । 

लामामाथि काठमाडौंमा शान्ति सुरक्षा कायम गर्न असफल भएको र चोरी लुटपाट रोक्न नसकेको आरोप लागेको छ । एसएसपी लामा लेनदेन र चेक बाउन्सका उजुरीतिर बढी केन्द्रित हुने गरेका छन् । लामाले आफ्नो कार्यक्षेत्र बाहिर गएर केही व्यक्तिहरुले दिएको निवेदनलाई आधार मानेर चेक बाउन्स नगर्न प्रभु र बैंक अफ काठमाडौंंलाई हालै पत्र लेखेको सार्वजनिक भएको थियो ।

काठमाडौं परिसरले दुई बैंकलाई पत्र लेखी होमप्रसाद चौलागाईं र गोपाल महर्जनको निवेदनले युनिक फ्युल सेन्टर र भ्याली रिकेस सप्लायर्सको नाउँमा रहेको कुनै पनि चेकहरु बाउन्स नगरिदिनुहुन अनुरोध गरेको थियो । चेकहरु अनुसन्धानका क्रममा रहेको हुँदा अन्य चेकहरु पनि जारी नगराउन अनुरोध गरिएको पत्र परिसरले प्रभु र बैंक अफ काठमाडौंलाई लेखेको सार्वजनिक भएपछि उनको कार्यक्षमतामा प्रश्न उठेको थियो । एसएसपी लामा लेनदेनका केसमा दत्तचित्त भएर लागेको दृष्टान्त चेक बाउन्स नगर्न लेखेको पत्र नै हो ।

ठगीमा मुछिएका भ्याली रिकेस सप्लायर्सका सञ्चालक होम प्रसाद चौलागाईं र महर्जन युनिक फ्युल सेन्टरका सञ्चालक गोपाल महर्जनलाई जोगाउन एसएसपी लामाले बैंकलाई पत्र लेखेका हुन् । यी दुई व्यक्तिहरुले आन्तरिक सहमति गरेर शिवप्रसाद तिमिल्सिनाई पम्प सञ्चालन गर्न दिएका थिए । 

प्रहरी हिरासतमा थुनुवाको मृत्युु हुँदा पनि एसएसपी लामाले दोषी प्रहरीलाई कारबाही नै नगरी उन्मुक्ति दिएको आरोप लागेको थियो । प्रहरीको पैसा मिटरब्याजमा चलाएपछि तिर्न नसकेर थुनिएका काठमाडौं तारकेश्वर नगरपालिका ११ का रवीन्द्रकुमार ढुंगानाको यातनाका कारण २०७५ कात्तिक १९ गते हिरासतमा मृत्यु भएको थियो ।
 

प्रतिक्रिया दिनुहोस