देउवाले महरालाई भने– नेपालकै पहिलो डरपोक सभामुख !

सफल खबर संवाददाता

बुधबार, २५ बैशाख २०७६, १६ : ४४
देउवाले महरालाई भने– नेपालकै पहिलो डरपोक सभामुख !

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सभामुख कृष्णबहादुर महरालाई नेपालकै इतिहासकै पहिलो डरपोक सभामुख भएको आरोप लगाउनुभएको छ । बुधबारबाट नेपाली कांग्रेसको जागरण अभियानका क्रममा काठमाडौंमा आयोजित कार्यक्रममा कांग्रेस सभापति देउवाले भन्नुभयो, ‘नेपालको संसदीय इतिहासमा यति कमजोर, डरपोक, काँतर सभामुख थिएनन्, उनी पहिलो हुन् ।’
मंगलबार प्रधानमन्त्रीले संसदमा गैर संसदीय भाषा बोल्दा आफूहरुले विरोध गरेको उहाँको भनाइ थियो ।  सभापति देउवाले भन्नुभयो, ‘हिजो संसदमा देखिहाल्नु भो। गैरसंसदीय शब्द डिलिट गर्नु भनेको डरपोक सभामुखले गर्न सकेनन्, इतिहासमै काँतर सभामुख रहेछन्।’ सभापति देउवाले वर्तमान केपी ओली नेतृत्वको सरकारले हरेक क्षेत्रमा हस्तक्षेप गरेको आरोप लगाउनुभएको छ । त्यसको विरुद्ध नेपाली कांग्रेस लड्ने उहाँको भनाइ थियो ।
आफूहरु कुर्सी रेलिङ भाच्ने प्रतिपक्षी नभएको भन्दै कांग्रेस सभापति देउवाले संसदीय भाषा र मर्यादामा प्रधानन्त्री नरहेको बताउनुभयो ।
यसअघिका सभामुखले प्रतिपक्षीको भूमिकालाई महत्व दिने गरेको सभापति देउवाको भनाइ थियो । सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले मेरो सरकार भनेको प्रति कटाक्ष गर्दै कांग्रेस सभापति देउवाले भन्नुभयो, ‘राष्ट्रपतिले मरो सरकार भनिन्, यस अघि गत वर्ष पनि भनेकी थिइनन्, रामवरण यादवले पनि भनेका थिएनन्, अहिले यिनलाई बेलायती महारानीजस्तो किन हुनु परेको ?’ 
गणतन्त्र आइसकेपछि नेपाल सरकार भन्ने परम्परा बसिसकेको भन्दै सभापति देउवाले त्यसलाई परिवर्तन गर्न नखोज्न चेतावनीसमेत दिनु भएको छ । 

प्रतिक्रिया दिनुहोस