सार्वजनिक जग्गा संरक्षणमा भरतपुर महानगर

सफल खबर संवाददाता

बुधबार, २५ बैशाख २०७६, १३ : ५६
सार्वजनिक जग्गा संरक्षणमा भरतपुर महानगर

चितवन । भरतपुर महानगरले सार्वजनिक जग्गा संरक्षणमा तदारुकता देखाएको छ । भरतपुर महानगरले हालसम्म विभिन्न वडाबाट ३२ बिघा १२ कठ्ठा दुई धुर जग्गा संरक्षण गरिसकेको छ । 
भरतपुर महानगर प्रमुख रेनु दाहालले एक वर्षदेखि भरतपुर महानगरपालिकाले सार्वजनिक जग्गा संरक्षण अभियान चलाइरहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘महानगरले धमाधम सार्वजनिक जग्गाहरु आफ्नो मातहतमा ल्याइरहेको छ, यो अभियानलाई निरन्तरता दिइने छ ।’
महानगर प्रमुख दाहालले कसैले पनि सार्वजनिक जग्गा हडप्न नपाउने बताउनुभयो । उहाँले भन्नुभयो, ‘महानगरले सयौं बिघा जग्गा आफ्नो मातहतमा ल्याउँछ, हामी एक धुर जग्गा पनि छोड्ने छैनौँ ।’


सार्वजनिक जग्गा पहिचान तथा व्यवस्थापन समितिका संयोजक तथा भरतपुर महानगरका प्रवक्ता अरुणपीडित भण्डारीले विभिन्न वडाका सार्वजनिक जग्गा संरक्षण भइरहेको बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘केही दिनअघि मात्र भरतपुर २ मा पुङ्गी खोलासँगै जोडिएको ६ कठ्ठा १० धुर जग्गा महानगरपालिकाले आफ्नो मातहतमा ल्याइसकेको छ ।’ यस्तै सोही दिन भरतपुर महानगरपालिका वडा नम्बर १२ मा संरक्षित ३ कठ्ठा जग्गमा महानगरको बोर्ड गाडिएको प्रवक्ता भण्डारीले बताउनुभयो ।  
प्रत्येक वडाको सार्वजनिक जग्गाको लगत संकलन गर्ने, नक्सांकन गर्ने, जीआईएस प्रविधि अपनाएर जग्गाको अवस्थाका बारेमा रेर्कड राख्ने काम भरतपुर महानगरले गरिरहेको छ । 

कुन वडामा कति जग्गा संरक्षण ? 

१) भरतपुर–२ पुंगी खोलानजिक ६ कठ्ठा १० धुर संरक्षण
२) भरतपुर ३ शान्तिमार्गस्थित ६ धुर संरक्षण
३) भरतपुर ३ अन्तर्गत सानो मझुवा क्षेत्रमा ११ कठ्ठा संरक्षण
४) भरतपुर ३ नदी किनारमा २२ बिघा संरक्षण
५) भरतपुर ४ त्रिचोकस्थित ७ धुर जग्गा संरक्षण
६) भरतपुर ५ र ४ नं वडाको सिमानामा ५ कठ्ठा जग्गा संरक्षण
७) भरतपुर १० मा ६ धुर जग्गा संरक्षण
८) भरतपुर ११ लामागाउँमा ६ कठ्ठा संरक्षण
९) भरतपुर १२ धनगडा मन्दिर नजिक ३ बिघा १५ धुर संरक्षण
१०) भरतपुर २० मा ७ कठ्ठा संरक्षण 
११) भरतपुर २१ मनिपुरमा १७ कठ्ठा संरक्षण 
१२) भरतपुर २२ मा ४ बिघा १० धुर संरक्षण 
१३) भरतपुर २२ मै साढे ७ कठ्ठा संरक्षण 
१४) भरतपुर २३ मा कुमारीचोक नजिक १९ कठ्ठा संरक्षण 


 

प्रतिक्रिया दिनुहोस