गैंडाकोट नगरपालिकाको विवाद : अब नगर सभा कि बजेट अधिवेसन ?

सोमबार, २३ बैशाख २०७६, १५ : ४०
गैंडाकोट नगरपालिकाको विवाद : अब नगर सभा कि बजेट अधिवेसन ?

उर्गेन तामाङ
चितवन ।
जनप्रतिनिधिहरुबीचको विवादका कारण नवलपुरको गैंडाकोट नगरपालिकामा लामो समयदेखि तनाव जारी छ । अनिश्चितकालका लागि स्थगित भएको नगर सभापछि अब पुनः नगर सभा बस्ने कि ? बजेट अधिवेसन डाक्ने ? भन्ने विवादले उग्ररुप लिँदा थप तनाव बढ्दै गएको हो । विवाद साम्य हुनुको साटो झन्झन् बढ्दै जाँदा विकास निर्माणका विभिन्न आयोजना तथा कार्यक्रम कार्यान्वयनमा समेत अन्यौलता देखिएको छ । 
वैशाख १४ गते बसेको नगरपालिकाको चौथो नगर सभामा कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरुले विभिन्न विषयमा असन्तुष्टि जनाउँदै अवरोध गरेपछि नगर प्रमुख छत्रराज पौडेलले नगर सभा स्थगित गरेका थिए । पौडेलले नगर सभा स्थगित गर्दै अब एकैपल्ट बजेट अधिवेसनमात्रै बस्ने बताएपछि विवादले नयाँ मोड लिएको छ । अहिले नगरपालिका उपप्रमुख विष्णुकुमारी कँडेल लगायतका कांग्रेसका जनप्रतिनिधिहरुले अन्य असन्तुष्टिलाई थाँती राख्दै तत्काल नगर सभा बोलाउन दबाव दिइरहेका छन् । 
गैंडाकोट नगर प्रमुख पौडेल भने नगर सभा नबसी बजेट अधिवेसन डाक्ने मनस्थितिमा छन् । नगर सभामा उपप्रमुखसहितका जनप्रतिनिधिले ४२ औँ कार्यपालिका बैठकले गरेको निर्णयमाथि प्रश्न उठाएका थिए । सो कार्यपालिका बैठकले २ करोड ८३ लाख बजेट विभिन्न शीर्षकमा छुट्याउने निर्णय गरेको थियो । बैठकबाट नगर प्रमुखले विषयगत समितिबाट ल्याएर पारित गर्नु पर्नेमा सिधै ल्याएर एकलौटी रुपमा रकमान्तर गरेको आरोप लगाउँदै उनीहरुले चौथो नगर सभामा अवरोध गरेका थिए । 
नगर सभामा अनुगमन समिति संयोजक रहेकी उपप्रमुख कँडेलले विभिन्न विकास निर्माणका आयोजनाको अनुगमन रिपोर्ट प्रतिवेदन प्रस्तुत गर्ने कार्यतालिका रहे पनि अन्य कांग्रेस निकटका सदस्यहरुले अवरोध गरेका थिए । प्रमुख पौडेलले नगर सभामा काम गर्न नदिने नियतले अनेक विवाद ल्याएकाले अब नगर सभा बस्नुको औचित्य नभएको भन्दै एकैपल्ट बजेट अधिवेसन बस्ने दोहो¥याए । 
नगर सभा बैठक स्थगित भएको २ दिनपछि वैशाख १६ गते नगर प्रमुखले कार्य क्षमतामाथि असन्तुष्टि जनाउँदै योजना पूर्वाधार र संरचना विकास समिति संयोजक कुमारी रेखा पौडेललाई हटाएर वडा नं. १४ का अध्यक्ष कोकीसरा रानामगरलाई नियुक्त गरेपछि विवाद थप चर्कियो । संयोजक पौडललाई प्रष्टिकरण दिने मौका पनि नदिई हटाएर नगर प्रमुख पौडेलले अधिनायकवादी चरित्र देखाएको उपप्रमुख कँडेलको आरोप छ । 
नगर प्रमुख पौडेलले नगरपालिका कार्य सम्पादन नियमावली २०७४ को नियम १५ को उपनियम २ लाई आधार मानी जिम्मेवारी हेरफेर गरेकाले आफूमाथिको आरोप निराधार रहेको दाबी गरेका छन् । प्रमुख पौडेलले उपप्रमुख कँडेल लगायतका सदस्यले बहुमतको आडमा नगरपालिकालाई नियोजित रुपमा बन्धक बनाउन खोजेको जिकिर गरेका छन् । 
गैंडाकोट नगरपालिकामा नगर सभाका ९५ सदस्यमध्ये नेपाली कांग्रेसका ६५ जना र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का ३० जना रहेका छन् । २८ सदस्यीय कार्यपालिकामा १८ जना कांग्रेसका र १० जना नेकपाका छन् । निर्वाचनताका गरेका प्रतिवद्धता पूरा गर्न छाडेर नगरपालिकाका जनप्रतिनिधि आरोप प्रत्यारोपमा उत्रिएपछि नगरवासी चिन्तित बनेका छन् ।

प्रतिक्रिया दिनुहोस