मैलै ल्याएको योजना र राणाकालदेखिको स्टिमरलाई ओली सरकारले आफ्नो भन्यो : देउवा

सफल खबर संवाददाता

आइतबार, २२ बैशाख २०७६, १३ : ०५
मैलै ल्याएको योजना र राणाकालदेखिको स्टिमरलाई ओली सरकारले आफ्नो भन्यो : देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले देउवाले मेरो पालामा ल्याइएका कार्यक्रमलाई ओली सरकारले आफ्नो भनेर दावी गरेको आरोप लगाएका छन् ।

आइतबारदेखि संसदमा सुरु भएको नीति तथा कार्यक्रम माथिको छलफलमा बोल्दै उनले युवा वैज्ञानिकहरुलाई अघि बढाउन आफूले ल्याएको न्यानो स्याटेलाइट कार्यक्रमलाई यो सरकारले आफैले गरेको बकम्फुसे दावी गरेको उल्लेख गरेका हुन् ।  ५ वैशाखमा नेपालको आफ्नै नानो स्याटलाइट (सानो भू-उपग्रह) अमेरिकाबाट प्रक्षेपण गरिएको थियो । प्रधानमन्त्री ओलीले ट्वीट गर्दै नेपालको पहिलो भू-उपग्रह प्रक्षेपण भएको र नेपाल पनि स्याटलाइट प्रक्षेपण गर्ने मुलुकहरुको सूचीमा जोडिएको भन्दै खुसी व्यक्त गरेका थिए । उनले राणाकालदेखि चलेको स्टिमरलाई आफ्नै पालादेखि चलेको भनेर झुक्याइएको आरोप समेत लगाए । 

सभापति देउवाले नयाँ आर्थिक वर्षका लागि सरकारले ल्याएको नीति तथा कार्यक्रमको चर्को आलोचना समेत गरे । उनले काँग्रेसले सुरु गरेको भेरी बबई डाइभर्सन आफैले सुरु गरेको जसरी सरकार प्रस्तुत भएको कटाक्ष गरे । देउवाले सरकारको काम गर्ने शैली र गतिबाट जनताले ठगिएको महसुस गरेको उल्लेख गरे । उनले महङ्गी बढेको, भष्टाचार बढेको महालेखा र ट्रान्सपरेन्सी इन्टरनेश्नलको प्रतिवेदनले देखाएको उल्लेख गरे ।

एक वर्षको नीति तथा कार्यक्रम भनिएपनि दुई, चार वर्षदेखि पच्चिस वर्षसम्मका कार्यक्रम समेटिएको बताउँदै उनले स्रोत साधन र विधीको टुङ्गो नभएको देशमा फगत नारामा मात्र सिमित हुने कुरामा कुनै शंका नभएको उल्लेख गरे ।

कांग्रेस सभापति देउवाले संक्रमणकालको अन्त्य भएको सरकारको दाबीको खण्डन गरे । अहिले पनि हजारौं द्वन्द्व पीडितहरु न्याय र राहतको पर्खाइमा रहेको र हिंसात्मक द्वन्द्वका घटनाहरु नरोकिएको उनले बताए ।

गत वर्ष ५ वर्षभित्र कोही पनि नेपाली विदेश जानुपर्दैन भनेको सरकारले यो वर्ष थप ५ लाख रोजगारी सिर्जना गर्छु भनेको उल्लेख गर्दै देउवाले भने, ‘कति रोजगारी सिर्जना भयो र कति विदेशिन परेन भन्नेबारे मुलक अनविज्ञ छ ।’

गतवर्ष तामझामका साथ सुरु गरिएको प्रधानमन्त्री रोजगार योजनाले अहिलेसम्म एउटा पनि रोजगारी सिर्जना गर्न नसकेको उनले बताए । उनले बुढी गण्डकी जलबिद्युत आयोजनालाई नेपालीले बनाउने आफ्नो सरकारको निर्णयलाई उल्टाई सरकारले खेलवाड र घात गरेको बताए । 

निर्मला पन्तको बलात्कार र हत्यामा सरकारले नै प्रमाण लुकाएको भन्ने जनतामा शंका स्थापित भएको उनले बताए ।

देउवाले छिमेकी देशहरुसँग रेल, सडक र हवाइमार्गबाट जोड्नुपर्ने तर, लहडमा नभइ प्राथमिकता र प्रतिफलका आधारमा आयोजना छनोट गर्नुपर्ने बताए । उनले भने, ‘चीन र भारत जोड्ने रेलमार्ग दुबै देशका लागि पनि महत्वपूर्ण आयोजना भएकाले यिनीहरुको निर्माण अनुदानमा मात्र हुनुपर्छ ।’

भारतमा प्रस्तावित १११ प्रमुख जलमार्गहरु मध्ये एउटामा जोडिन पनि अझै धरै गृहकार्य गर्न बाँकी रहेको भन्दै उनले भने, प्रधानमन्त्रीज्यू, अहिले नै पानी जहाज आइसकेझै कार्यालय खोलेर सपना बेच्दै हुनुहुन्छ । राणाकालदेखि चलेको रेल र सिस्टरलाई नयाँ आविष्कारका रुपमा प्रचारित गरिएको छ ।’

उनले सरकारको नीति तथा कार्यक्रम आधारहीन र तयारी विनाका चाहनाहरुको संंगालो टिप्पणी गरे । उनले नेपाली कांग्रेसले गरेको नीति तथा कार्यक्रम संशोधन प्रस्तावमा समर्थन गर्न पनि उनले आग्रह गरे ।

सरकारको नीति तथा कार्यक्रममा दिइएको सफलताको फेरिहस्त झुटो सावित भएको बताउँदै उनले अघिल्लो पटक ल्याएको नीति तथा कार्यक्रमले कुनै नतिजा नदिएकोले यो वर्ष ल्याएको कार्यक्रमले पनि कुनै नतिजा नल्याउने देउवाले बताए ।

प्रतिक्रिया दिनुहोस