फानीका कारण भारतको उडिसामा  नौको मृत्यु, १६० घाइते

एजेन्सी

शनिबार, २१ बैशाख २०७६, १४ : ५२
फानीका कारण भारतको उडिसामा  नौको मृत्यु, १६० घाइते

भुवनेश्वर । शक्तिशाली सामूद्रिम आँधी ‘फानी’ का कारण भारतको पूर्वी तटवर्ती राज्य उडिसामा कम्तीमा नौ जनाको मृत्यु भएको छ ।
प्रतिघण्टा २०० किलोमिटरको गतिमा शुक्रबार आएको आँधी र बर्षामा परी अरु १६० जना घाइते भएका अधिकारीहरुले जनाएका छन् । 

आँधी र बर्षाले रुख र विजुलीका पोलहरु ढलाएको छ भने थुप्रै भौतिक संरचनाहरुमा पनि क्षति पु¥याएको समाचारमा जनाइएको छ । 
विषेशगरेर भुवनेश्वर, कत्ताक, पुरी र खोर्धा जिल्लामा आँधी र बर्षाले धेरै असर पारेको उडिसा सरकारले जनाएको छ । 

प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाप्रति दुःख व्यक्त गर्दै आँधीबाट प्रभावित भएकाहरुलाई राहतको घोषणा गर्नुभएको छ । बङ्गालको खाडीबाट शुरु भएको समुद्री आँधी शनिबार बिहान आठ बजे तटीय इलाकामा आइपुगेको थियो ।

भारतको पूर्वी तटवर्ती क्षेत्रबाट सामुद्रिक आँधी आउने आशङ्कामा त्यस क्षेत्रका करिब आठ लाख मानिसलाई बिहीबार नै सुरक्षित स्थलतर्फ सारिएको थियो ।  
उडिसामा सन् १९९९ मा आएको सामूद्रिक आँधीका कराण करिब १० हजार जनाको मृत्यु भएको थियो । त्यतिखेर करिब १० लाख व्यक्ति आँधी प्रभावित क्षेत्रबाट विस्थापित भएका थिए । 

त्यस्तै सन् २०१७ मा तामिलनाडु र केरला राज्यमा आएको सामुद्रिक आँधी ओक्खीले करिब २५० जनाको ज्यान लिएको थियो । त्यस्तै छ सय व्यक्ति वेपत्ता भएका थिए । 
भारतको पूर्वी र दक्षिणपूर्वी क्षेत्रमा अप्रिलबाट डिसेम्बरसम्म प्रायः आँधीले आउने र ठूलो धनजनको क्षति हुने गरेको छ ।(रासस/एएफपी) 

प्रतिक्रिया दिनुहोस