रंगशाला निर्माणको शिलान्यास पूर्वको तयारी पूरा

सफल खबर संवाददाता

शुक्रबार, २० बैशाख २०७६, १५ : ४३
रंगशाला निर्माणको शिलान्यास पूर्वको तयारी पूरा

चितवन । चितवनको भरतपुरमा निर्माण हुन लागेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका शिलान्यास पूर्वको तयारी पूरा भएको छ । 
रंगशाला निर्माणको जिम्मा लिएको धुर्मुस सुन्तली फाउण्डेसनका अध्यक्ष सीताराम कट्टेल धुर्मुसले पत्रकारहरुसँगको कुराकानीमा रंगशाला निर्माणको शिलान्यास पूर्वको तयारी भएको बताउनुभयो । 
रंगशाला निर्माणका लागि आवश्यक सामग्री भण्डार गर्न गोदामघर, कर्मचारी आवास गृह, कार्यालय, प्रवेसद्वार, सुरक्षाकर्मी बस्ने पोष्ट, रंगशाला निर्माणस्थल क्षेत्र वरिपरि जस्ताको बारलगायत पूर्वतयारीका सम्पूर्ण काम सम्पन्न भएको अध्यक्ष धुर्मुसले बताउनुभयो ।
रंगशाला निर्माण सम्पन्न गर्न ३ अर्ब लाग्ने अनुमान गरिएको छ ।  हालसम्म ६ करोड रुपैँया संकलन भएको र शिलान्यास पूर्वको तयारी सकिएको फाउण्डेसनले जनाएको छ । 
पत्रकारसँग धुर्मुसले भन्नुभयो, ‘जुन गतिमा रकम संकलन हुनुपर्ने थियो, त्यो गतिमा अलिकति कमी भएको हो कि जस्तो अनुभव भएको छ, तर काम भएको देखिन थालेपछि रकम तीव्र रुपमा संकलन हुन्छ, अहिलेको रकम संकलन राम्रै भइरहेको छ ।’

उहाँले भन्नुभयो, ‘आर्थिक संकलन अभियानले देश विदेशमा व्यापकता पाउँदै गइरहेको छ । विदेशमा विभिन्न कार्यक्रम गरिरहेका छौँ । देशको सबै जिल्लामा कार्यक्रम भइरहेको छ, सरोकारपक्षसँगको समन्वयमा रकम संकलन अभियान सबै देशवासीसम्म पुगेको छ ।’
धुर्मुसले निर्माणको काम सुरु भएपछि सहयोग संकलन अझ धेरै जुट्दै जाने विश्वास व्यक्त गर्नुभयो । अहिले माष्टर प्लानको काम सकेर डिपीआरको काम धमाधम भइरहेको छ । डिपीआरको काम सक्नेबित्तिकै सिलान्यास गर्ने र भदौबाट निर्माणको काम सुरु गर्ने तयारी भइरहेको फाउण्डेसनले जनाएको छ । 
धुर्मुसले विश्वमै पहिलो पटक जनस्तरबाट बन्न लागेको अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा धेरथोर सकेको सहयोग गरी अपनत्व ग्रहण गर्न सबै नेपालीसँग आग्रह गर्नुभएको छ । स्रोत व्यवस्थापन प्रमुख विषय भए पनि निर्धारित समय दुई वर्षमा जनस्तरबाटै निर्माण सम्पन्न गर्ने दृढतासमेत व्यक्त गर्नुभयो । 
रंगशाला निर्माणको यो परियोजनालाई विकासको एउटा महत्वपूर्ण अभियानका रुपमा लिएर आआप्mनो ठाउँबाट नेतृत्व गर्न सवै नेपालीसँग फाउण्डेसनका अध्यक्ष धुमुर्सले अपिलसमेत गरेका छन् । 
अन्तराष्ट्रिय सेवा सुविधाको रंगशाला चितवनको भरतपुर महानगरपालिका १५ रामपुरमा निर्माण घोषणा गरिएको छ । अहिले सिलान्यास पुर्वको तयारी पूरा गरेको फाउण्डेसनले जनाएको छ । 


 

प्रतिक्रिया दिनुहोस