बालुवाटार जग्गा प्रकरणमा गल्ती छ भने पौडेल पनि जान्छन्, देउवा पनि जान्छन् : सरकार

सफल खबर संवाददाता

विहीबार, १९ बैशाख २०७६, १९ : १६
बालुवाटार जग्गा प्रकरणमा गल्ती छ भने पौडेल पनि जान्छन्, देउवा पनि जान्छन् : सरकार

फाइल फोटो

काठमाडौं । सरकारले बालुवाटारको ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा ल्याउने जो कोहीलाई सरकारले छुट नदिने बताएको छ ।
बिहिबार नियमित पत्रकार सम्मेलनमा बोल्दै सरकारका प्रवक्ता तथा सञ्चार, सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले यस्तो बताएका हुन् । 

मन्त्री बास्कोटाले बालुवाटार जग्गा अनियमितता छानबिनमा सरकार पछि नहट्ने बताउँदै भने, ‘यसमा म बहुत स्पष्टसँग अनुरोध गर्न चाहन्छु । सरकारले पिठ्युँ फर्काउनेवाला, आँखा चिम्लनेवाला, आँखा झिम्क्याउनेवाला छैन, कानमा तेल हाल्ने वाला छैन’ ।

उनले यही सरकारले सो जग्गाबारे छानविनका लागि समिति बनाएर तथ्य बाहिर ल्याएको बताउँदै पार्टीका महासचिव विष्णु पौडेलको नाम देखिने बित्तिकै सरकारलाई लखेट्ने काम भएको बताए । उनले सो प्रकरण अरु थुप्रै भएपनि विष्णु पौडेलमाथि मात्रै धनु चलाउने काम भएको उल्लेख गर्दै विषय विष्णु पौडेल, सुवर्ण शम्शेरको मात्र नभएको बताए । 

मन्त्री बास्कोटाले आफूले विष्णु पौडेललाई सरकारले क्षतिपूर्ति दिनुपर्छ नभनेको उल्लेख गर्दै सो प्रकरणमा काँग्रेस सभापति देउवा वा नेकपा महासचिव पौडेल भएपनि सरकारले क्षतिपूर्ति नतिर्ने बताए । उनले भने– ‘सो प्रकरणमा गल्ती छ भने पौडेल पनि जान्छन्, देउवा पनि जान्छन् । यहाँ देउवा जोडिनुभयो सरकार पूर्वाग्राही भयो भन्न थालियो, विष्णु पौडेल जोडिँदा चाही कसरी अपराधी हुनुभयो ?

जोसुकैको नाममा भए पनि सरकारी सम्पत्ति सरकारले लिने उनले बताए । ‘छ भने उहाँहरुको गयो, सरकारले लिन्छ, त्यति हो सरकारले क्षतिपूर्ति पनि तिर्दैन’ उनले भने ‘महासचिव भनेर लालपूर्जामा लेखेको छैन होला । सभापति भनेर पनि लेखेको छैन वा पूर्वप्रधानमन्त्री भनेर लेखेको छैन ।’ सरकारले संविधान, नियम कानूनले व्याख्या गरेअनुसार सरकारी सम्पत्ति फिर्ता ल्याउने मन्त्री बास्कोटाले जिकिर गरे । 
 

प्रतिक्रिया दिनुहोस