बेइजिङमा राष्ट्रपति भण्डारी–सीबीच दिवाभोजसँगै वार्ता

सोमबार, १६ बैशाख २०७६, १८ : ०३
बेइजिङमा राष्ट्रपति भण्डारी–सीबीच दिवाभोजसँगै वार्ता

नेपालमा गणतन्त्र स्थापना भएको १० वर्षपछि बेइजिङमा पहिलो पटक नेपाल र चीनका राष्ट्रपतिबीच दुई पक्षीय औपचारिक भेटावार्ता भएको छ। चीन भ्रमणमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारी र चिनियाँ समकक्षी सी चिनफिङबीच सोमबार अपरान्ह भेटवार्ता भएको हो।

बेल्ट एण्ड रोड इनियिसयटिभ (बीआरआई) दोस्रो अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुने क्रममा केही दिनयता राष्ट्रपति भण्डारी र सीबीच अनौपचारिक भेटघाट भएका थिए। सोमबार भने दुई देशका राष्ट्र प्रमुखबीच चीनको सरकारी मुख्यालय ग्रेट हलमा औपचारिक भेटवार्ता भएको हो।

बेइजिङस्थित नेपाली दुतावासका अधिकारीले नेपालखबरसँग कुरा गर्दै भेटवार्ता भएको पुष्टी गरेका हुन्।  चिनियाँ कम्युनिष्ट पार्टीको शक्तिशाली निकाय पाँच सदस्यीय स्थायी समितिका सदस्य तथा अनुशासन आयोगका प्रमुख झाओ लेजीले राष्ट्रपति भण्डारीको सम्मानमा आयोजना गरेको दिवाभोजका क्रममा भण्डारी–सीबीच भेटवार्ता भएको हो।

राष्ट्रपति भण्डारी बीआरआईको दोस्रो अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन चीनका राष्ट्रपतिको निमन्त्रणामा राजकीय भ्रमणका क्रममा बेइजिङ पुगेकी हुन्। बीआरआई सम्मेलन समापनपछि राष्ट्रपति भण्डारीको सम्मानमा झाओले राष्ट्रपति सीसहितको दिवाभोज आयोजना गरेका हुन्।

यो उच्च भेटवार्तासँगै राष्ट्रपति भण्डारीको बेइजिङको कार्यक्रम सकिएको छ। राष्ट्रपति भण्डारीले नेतृत्व गरेको नेपाली प्रतिनिधिमण्डल मंगलबार एयर चाइनाको जहाजबाट तिब्बतको ल्हासा उड्ने कार्यक्रम छ।  

प्रतिक्रिया दिनुहोस