मुलुकको विकासका लागि पुस्तकालयको भूमिका महत्वपूर्ण : डा भट्टराई

शुक्रबार, १३ बैशाख २०७६, १९ : १६
मुलुकको विकासका लागि पुस्तकालयको भूमिका महत्वपूर्ण : डा भट्टराई

काठमाडौँ । पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले मुलुकको विकासका लागि सार्वजनिक पुस्तकालयको महत्वपूर्ण भूमिका रहेको बताउनुभएको छ । 

काठमाडौँ उपत्यका सार्वजनिक पुस्तकालय समाजको १६औँ वार्षिक साधारणसभाका अवसरमा यहाँ आज आयोजित कार्यक्रममा उहाँले पुस्तकालयमा उपलब्ध पुस्तक पढेर धेरै मुलुकले विकास गरेको बताउनुभयो । “ज्ञानका कारण अमेरिकाले विकास गरेको हो, देश विकासका लागि नेतृत्वले समयअनुसार अध्ययन गर्नु जरुरी छ”, उहाँले भन्नुभयो । पूर्वप्रधानमन्त्री डा भट्टराईले पछिल्लो समय सार्वजनिक सम्पत्ति दुरुपयोग हुँदै गएको भन्दै यसलाई जोगाउनु राज्यको दायित्व रहेको उल्लेख गर्नुभयो । काठमाडौँ उपत्यका सार्वजनिक पुस्तकालयलाई देशकै गर्व गर्न लायक पुस्तकालयका रुपमा विकास गर्नुपर्ने उहाँको भनाइ थियो । 

पुस्तकालयका अध्यक्ष एवं नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डा नारायण खड्काले पुस्तकालयलाई छायाँमा राखेर मुलुकको विकास हुन नसक्ने बताउनुभयो । मुलुकको राजनीति र आर्थिक विकासका लागि पुस्तकालयको विकास हुुनुपर्ने उहाँको भनाइ थियो । 

पूर्वमन्त्री गणेश शाहले मुलुकको लोकतन्त्रलाई बलियो बनाउन पुस्तकालयको विकास गर्नु जरुरी रहेको बताउनुभयो । सांसद छक्कबहादुर लामाले पुस्तकालयमा सरकारी अनुदान कमी हुँदै गएको बताउँदै यसका लागि सरकारले विशेष पहल गर्नुपर्ने बताउनुभयो । सोह्र वर्ष अगाडि शुरु भएको उक्त पुस्तकालयमा हाल विभिन्न भाषाका एक लाखभन्दा बढी पुस्तक रहेका छन् । दैनिक २०० भन्दाबढी पाठक पुस्तक अध्ययनका लागि आउने उक्त पुस्तकालयको आफ्नो भवन नहुँदा पुस्तक व्यवस्थापनमा समस्या परेको पुस्तकालय समाजका महासचिव मोहनकुमार  इङनामले जानकारी दिनुभयो । सोही अवसरमा पुस्तकालयको विकासमा महत्वपूर्ण भूमिका खेल्नुभएकामा पूर्वप्रशासक सूर्यप्रसाद श्रेष्ठलाई सम्मान गरिएको थियो । (रासस) 

प्रतिक्रिया दिनुहोस