सरकार–राप्रपा वार्ता सम्पन्न : माग पुरा गर्न सरकार सकारात्मक देखिएकाले पुनः वार्ता हुने राप्रपाको भनाइ

मंगलबार, १० बैशाख २०७६, १८ : २८
सरकार–राप्रपा वार्ता सम्पन्न : माग पुरा गर्न सरकार सकारात्मक देखिएकाले पुनः वार्ता हुने राप्रपाको भनाइ

काठमाडौं । सरकार र धर्म निरपेक्षताको खारेजीलगायतका २२ बूँदे माग राख्दै आन्दोलनरत राष्ट्रिय प्रजातन्त्र पार्टीबीच मंगलबार वार्ता भएको छ । वार्तामा सरकारले संघीय लोकतान्त्रिक गणतन्त्रमाथि नै अतिक्रमित हुने खालका मागमा तत्काल पुनर्विचार गर्न राष्ट्रिय प्रजातन्त्र पार्टीलाई आग्रह गरेको छ ।  

सिंहदबारस्थित कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा भएको वार्तामा धर्म निरपेक्षतालगायतका संविधान विरोधि माग सम्बोधन गर्न नसकिने भएकाले त्यसमा पुनर्विचार गर्न राष्ट्रिय प्रजातन्त्र पार्टीलाई आग्रह गरिएको सरकारी वार्ता टोलीका संयोजक कानुन, न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकालले जानकारी दिए ।

वार्तामा सरकारी टोलीले संविधान, कानुन अतिक्रमित हुने खालका बाहेकका जनसरोकारका विषयमा उठाइएको राष्ट्रिय प्रजातन्त्र पार्टीको माग सम्बोधन गर्न सरकार सकारात्मक रहेको पनि बताए । 

राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट गठित वार्ता टोलीका संयोजक दिपक बोहराले जनसरोकारको विषयमा आफ्नो माग सम्बोधन गर्न सरकार सकारात्मक देखिएकाले पुनः वार्ता गर्ने गरी आजको वार्ता सकिएको जानकारी दिए । उनले सैद्धान्तिक विषयमा आफ्नो पार्टीले उठाएको मागका विषयमा पनि बैठकमा छलफल गर्दै अघि बढने सहमति भएको बताए । 

प्रतिक्रिया दिनुहोस