नेपाल कम्युनिष्ट पार्टी ७०औं वार्षिकोत्सव

भ्रष्टाचारविरुद्ध साँस्कृतिक क्रान्ति आवश्यक छ : अध्यक्ष प्रचण्ड

सफल खबर संवाददाता

सोमबार, ०९ बैशाख २०७६, १४ : ४६
भ्रष्टाचारविरुद्ध साँस्कृतिक क्रान्ति आवश्यक छ : अध्यक्ष प्रचण्ड

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशमा विद्यमान भ्रष्टाचारविरुद्ध साँस्कृतिक क्रान्ति आवश्यक रहेको बताउनु भएको छ । नेपाल कम्युनिष्ट पार्टी ७०औं वार्षिकोत्सव समारोहलाई सोमबार काठमाडौंमा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताउनु भएको हो ।

‘भ्रष्टाचारविरुद्ध नयाँ अभियान चलाउन जरुरी छ’ उहाँले भन्नुभयो, साँस्कृतिक क्रान्ति चलाउन आवश्यक छ । त्यो साँस्कृतिक क्रान्ति चिनियाँ मोडलको होइन, नेपाली साँस्कृतिक क्रान्ति चलाउनु पर्छ ।’ जनअपेक्षा अनुसारका काम गर्दै कम्युनिष्ट आन्दोलनलाई एकतावद्ध गर्न पहल लिनु पर्ने उहाँको भनाइ थियो । नेपाली श्रमजीवी जनता र विश्व कम्युनिष्ट आन्दोलनको हितमा कदम चाल्नै पर्ने भन्दै उहाँले यसैका लागि विगतमा पार्टी एकताको संकल्पसहित निर्वाचनमा गठबन्धन बनाएर अगाडि बढेको बताउनु भयो । ‘कम्युनिष्ट पार्टीहरुबीच एकता भयो भने निरंकुशता आउँछ भन्ने लगायतका भ्रम छर्ने काम भए’ उहाँले भन्नुभयो, ‘पार्टी एकता रोक्न नेपालभित्र र नेपालबाहिर पनि प्रयत्न भए । हामी विचलित नभईकन अगाडि बढ्यौं । अन्ततः अघिल्लो वर्ष जेठ ३ गते पार्टी एकता गरेरै छाड्यौं । एउटा कोसेढुंगा स्थापना ग¥यौं ।’ 

‘सानो मिहिनेतले सानो विवेकले सानो संकल्पले पार्टी एकता भएको होइन’ उहाँले अगाडि भन्नुभयो, ‘पार्टी एकता प्रकृयाको अन्तिम फलामे ढोका जिल्ला नेतृत्वको टुंगो लगाएका छौं । यो काम सजिलो थिएन । जसरी पार्टी एकता गर्ने क्रममा विभिन्न समस्या छिचोल्नु परेको थियो, त्यस्तै समस्याको गाँठो अहिले फुकाएका छौं । म सम्पूर्ण कमरेडहरुलाई बधाई दिन चाहन्छु । तपाइँहरुले छिटो पार्टी एकता गर्नु प¥यो, पार्टी एकता प्रकृयालाई टुंग्याउनु प¥यो भनेर दिएको दबाबकै कारण यो सम्भव भएको हो । व्यक्तिगत वा गुटगत स्वार्थ हेरेको भए यो एकता सम्भव थिएन ।’ 

समाज विकासको वैज्ञानिक नियमलाई आत्मसात गरेर परिवर्तन र गतिको अनन्त प्रवाहमा सामाजिक परिवर्तनलाई अगाडि बढाएर क्रान्ति र युगको नेतृत्व गर्न सकिने उहाँको भनाइ थियो । ‘महान लेनिनको जन्म जयन्तीको सन्दर्भमा पार्टी स्थापना भएकोले आधारभूत सिद्धान्तको रक्षा गर्ने, त्यसलाई प्रयोगमा लैजाने र सफल पार्ने कामको दृष्टान्त लेनिनले प्रस्तुत गर्नुभयो’ अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘हाम्रो अगाडि कामहरु अझ धेरै छन् । पछाडि फर्केर होइन, अगाडि बढेर, नेपाली कम्युनिष्ट आन्दोलनको सारलाई खिचेर समाजवादको आधार तयार पार्नु पर्छ । यो आफैमा एउटा युगान्तकारी काम हो । ऐतिहासिक जिम्मेवारी हाम्रो काँधमा छ ।’

पार्टी एकता टुंगिएपछिको कार्यभार जानकारी गराउँदै अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘आजबाट पार्टी एकता टुंग्याएर नयाँ अभियानमा जानु छ । अब हामी आठ महिनाभित्र सबै जिल्ला अधिवेशन र एक वर्षभित्र महाधिवेशन सफल पार्नु पर्नेछ । त्यो समय महाविवाद र महाबहसको भट्टी हुनेछ । त्यसपछि नेपालको कम्युनिष्ट आन्दोलनले विश्व कम्युनिष्ट आन्दोलनलाई केही सन्देश दिनेछ । कम्युनिष्टहरुले ठीक ढंगले विश्लेषण, संश्लेषण गरियो भने समाजवादी यात्रा वैज्ञानिक समाजवादतर्फ जानेछ ।’ 

प्रतिक्रिया दिनुहोस