‘कोलगेट लोक कलाकार’ छनौटको लागि भोट माग्दै गायक शीतल

सफल खबर संवाददाता

सोमबार, ०९ बैशाख २०७६, १३ : ०२
‘कोलगेट लोक कलाकार’ छनौटको लागि भोट माग्दै गायक शीतल

भरतपुर । लोकगायक शीतल गुरूङ ‘कोलगेट ईमेज लोक कलाकार सिजन–२’ को शीर्ष पाँचमा पुग्न सफल भएका छन् । इच्छाकामना गाउँपालिका वडा नं. ४ सोराथोकमा जन्मिएका गुरूङले आफूलाई जिताउनको लागि दर्शकस्रोतासमक्ष भोटको अपिल गरेका छन् । 

चितवन जिल्लाको प्रतिनिधित्व गर्दै शीर्ष पाँचमा पुगेका गुरूङ चितवनबाट सबैभन्दा बढी सहयोग हुनेमा आशावादी छन् । करिब १० वर्षअघि नै ‘हेर्नु एकैछिन’ लोकदोहोरी एल्बम निकालेर दर्शकस्रोतको मन जितिसकेका उनी ‘कोलगेट ईमेज लोक कलाकार’मा बिजेता बन्नको लागि पनि दर्शकस्रोताकै हात रहेको बताउँछन् । यही बैशाख १२ गते हुने अन्तिम प्रतिष्पर्धाको लागि तयारी गरिरहेका गायक गुरूङलाई भोट गरेर जिताउनको लागि विभिन्न जिल्लामा पुगेर आफन्त, इष्टमित्र तथा साथीभाइहरुलाई भोट गरेर सहयोग गरिदिन आग्रह गर्दै आएका छन् ।

‘मेरा प्रिय दर्शक एवम् स्रोताहरुले मोबाइलको म्यासेजबक्समा गएर आइएलके स्पेश ९ टाइप गरेर ३५००५ मा सेण्ड गरेर सहयोग गरिदिनुहोला,’ उनी भन्छन्, ‘तपाइँको एक भोटको सहयोग नै मेरा लागि अमूल्य सहयोग सावित हुनेछ ।’ वि.सं. २०४५ मंसिरमा जन्मिएका गुरूङ सानैदेखि लोक संगीतमा रूचि राख्थे । करिब दर्जनभन्दा बढी गीत रेकर्ड गराइसकेका गुरूङले लोकदोहोरीसँगै सालैजो, कौडा तथा गुरूङ भाषाका गीत समेत गाइसकेका छन् । ‘हेर्नु एकैछिन्’, ‘म त तिम्रै मायामा हराउँदै गएँ’, ‘जुनमा बसाइँ सरम्’, ‘हाम्रो माया दुबो झैँ मौलाओस्’, ‘जल चोखो हुन्छ’, ‘लाउने भए लाउ माया आँटेर’लगायतका गीत चर्चित छन् । यस्तै ‘खैँजडी म्होरसी’ गुरूङ भाषाको गीत समेत रेकर्ड भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस