काठमाडौँ । गएको ६ महिनादेखि कुनै फिल्म नचलेर नेपाली फिल्म क्षेत्र धरासायी हुने अवस्थामा पुगेको थियो । गएको वर्षको दशैंमा प्रदर्शनमा आएको फिल्म 'छक्का पञ्जा ३' पछि कुनै फिल्मले दर्शकको ठूलो भीड हलसम्म ल्याउन सकेका थिएनन् । बजारमा स्टार कहलिएका अभिनेता प्रदीप खड्का (रोज र लभ स्टेशन) र अनमोल केसी (क्याप्टेन) का फिल्मले समेत हलमा दर्शकलाई आकर्षित गर्न चुकेका थिए । आश गरिएका फिल्म नै नचल्दा फिल्मकर्मीमा गहिरो निराशा छाएको थियो ।
दर्शकलाई फेरि हल फर्काउन ‘छक्का पञ्जा’ कै सिरिज आवश्यक रहेको बहस सुरु हुन भएको थियो । यद्यपि, धेरथोर आश झरना थापा निर्देशित फिल्म ‘ए मेरो हजुर ३’ माथि थियो । नयाँ वर्ष २०७६ को छेकोमा आएको यो फिल्मले आशालाई निराशामा बदल्न दिएन । यो फिल्मले अहिले बक्सअफिसमा मनग्य पैसा छापिरहेको छ । फिल्मले प्रदर्शनको चार दिनमा ४ करोड कमाएको रिपोर्ट प्राप्त भएको थियो । गत शुक्रवारबाट फिल्म दोस्रो हप्तामा प्रदर्शनरत छ ।
प्रदर्शनको पहिलो हप्ता फिल्मको कलेक्सन आक्रामक रहेको वितरक मनोज राठी बताउँछन् । फिल्मले प्रदर्शनको पहिलो दिन शुक्रवार, दोस्रो दिन शनिवार र तेस्रो दिन अर्थात् नयाँ वर्षको दिन आइतवार कमाईमा ठूलो छलाङ्ग मारेको थियो । सोमवारदेखि बिहीवारसम्म पनि फिल्मले आक्रामक व्यापारलाई निरन्तरता दिएको वितरक राठीको भनाई छ । फिल्मले पहिलो हप्ता साढे ५ करोडको आसपास व्यापार गरेको अनुमान गरिएको छ ।
ब्रान्ड नाम, स्टारपावर, गीतसंगीत र ट्रेलरका कारण इनिसियल बक्सअफिस आक्रामक रहेको अभिनेता अनमोल केसी र डेब्यू गर्ल सुहाना थापा स्टारर ‘ए मेरो हजुर ३’ लाई दोस्रो हप्ता भने शुक्रवारबाट प्रदर्शनमा आएको बलिउडको बिग बजेटको मल्टिस्टारर फिल्म ‘कलंक’ ले असर गर्ने कतिपयको अनुमान थियो । तर, दोस्रो हप्ता पनि फिल्मले बक्सअफिसमा आफ्नो दबदबा कायमै राखेको छ । ‘कलंक’ ले यसलाई खासै असर गरेको छैन ।
फिल्मले शुक्रवार र शनिवार मल्टीप्लेक्स र सिंगल स्क्रिन दुबैतिर देशभर हाउसफुल व्यापार गरेको बताइएको छ । पहिलो हप्ताको कलेक्सनबाटै लगानी सुरक्षित भएपछि खुसी देखिएका निर्माता सुनिल कुमार थापा दोस्रो हप्ता पनि हलमा दर्शकको चाप कम नभएको बताउँछन् । ‘वर्ड अफ माउथ’ बलियो भएका कारण फिल्म बक्सअफिसमा लामा रेसको घोडा बन्ने उनको विश्वास छ । दोस्रो हप्ताबाट यो फिल्म नाफाको बाटोमा अगाडि बढेको छ ।
शनिवार निर्देशक झरना दोस्रो पटक दर्शकसँग प्रत्यक्ष साक्षात्कार गर्न अभिनेता अनमोल र छोरी सुहानालाई लिएर गोपीकृष्ण हल पुगेकी थिइन् । दिउँसो साढे १ बजे गोपीकृष्ण पुग्दा फिल्म हेर्नका लागि टिकट काट्ने र अनमोल-सुहानालाई हेर्ने दर्शकको ठूलो भीड देखिएको थियो । हरेक पटकझैँ अनमोललाई देखेपछि रुने र चिच्याउने युवतीहरु कम थिएनन् । सुहानाको क्रेज पनि गजब देखिएको थियो । दुबैले दर्शकलाई हात जोडेर धन्यवाद व्यक्त गरे ।
गोपीकृष्णको बालकुनीमा पुगेपछि अनमोलले आफ्नो तश्बिर छापिएको केही थान टिर्सट दर्शकलाई बाँडे । टिर्सटमा उनले आफ्नो हस्ताक्षर गरेका थिए । अनमोलले फ्याकेको टिर्सट आफ्नो बनाउन दर्शकबीच ठूलै घम्साघम्सी परेको थियो । उनले फिल्ममा आफूले निभाएको ‘प्रेम र धनश्याममध्ये कुन क्यारेक्टर मनपर्यो ?’ भन्दै दर्शकलाई सोधेका थिए । दर्शकले धनश्याम मनपरेको जवाफ फर्काए । उनी फिल्मप्रति दर्शकको उत्साहले दंग देखिन्थे ।
अनमोल प्रायः आफ्नो नयाँ फिल्म रिलिज हुँदा शनिवार दर्शकसँग खुसी बाँड्न हल पुग्ने गर्दछन् । तर, वर्षमा एकपटक मात्र । ‘ए मेरो हजुर ३’ ले आफ्ना अघिल्ला सबै फिल्मको रेकर्ड ब्रेक गरेको खुसीले होला उनी दोस्रो पटक हल पुगेर दर्शकसँग रमाए । 'कृ' र 'क्याप्टेन' पछि उनको स्टारडममाथि धेरैले प्रश्न उठाएका थिए । ‘ए मेरो हजुर ३’ ले भने उनको स्टारडम उत्कर्षमा पुर्याएको छ । उनको फेरि नेपाली फिल्ममा डिमाण्ड बढ्ने निश्चित छ ।
यो फिल्मबाट अभिनेत्री सुहाना थापाले सानदार डेब्यू गरेकी छन् । उनलाई भविष्यको स्टार भनिन थालिएको छ । उनको अभिनयको अहिले समीक्षक र दर्शक सबैले मुक्तकण्ठले प्रशंसा गरिरहेका छन् । डेब्यू फिल्मबाटै उनले लोभलाग्दो फ्यान फलोइंग बनाएकी छन् । फिल्ममा उनले एक डाइहार्ट फ्यानको भूमिका निभाएकी छन् । ‘ए मेरो हजुर ३’ मा सलोन बस्नेत, अर्पण थापा, रेअर राई, सरोज खनाललगायतका कलाकारहरुको पनि अभिनय छ ।
प्रतिक्रिया दिनुहोस