दोस्रो सातामा यात्रा र ए मेरो हजुर–३

शुक्रबार, ०६ बैशाख २०७६, २१ : १०
दोस्रो सातामा यात्रा र ए मेरो हजुर–३

काठमाडौँ । हरेक साता दुई या दुईभन्दा बढी फिल्म एकसाथ प्रदर्शनमा आउने गरेकोमा यो शुक्रबार भने कुनै नयाँ नेपाली फिल्म दर्शकमाझ आएको छैन । नयाँ वर्षको अवसर पारेर गत शुक्रबार अर्थात् २९ चैतमा दुई फिल्म ए मेरो हजुर–३ र यात्रा–अ म्युजिकल भ्लग प्रदर्शन भएका थिए । दुवै फिल्ममा दर्शकको चापका कारण यो साता कुनै नयाँ फिल्म आएनन् ।

अभिनेत्री झरना थापा निर्देशित ए मेरो हजुर–३ मा अनमोल केसी र सुहाना थापा मुख्य भूमिकामा छन् । झरनाकी एकल पुत्री सुहानाले यही फिल्मबाट हिरोइनका रूपमा डेब्यु गरेकी हुन् । फिल्ममा उनको अभिनयले तारिफ पाइरहेको छ । फिल्ममा अनमोल युवा स्टार गायक प्रेमको भूमिकामा छन् भने सुहाना प्रेमकी डाइहार्ट फ्यान । स्टार र फ्यानबीचको सम्बन्ध कसरी प्रेममा परिणत हुन्छ भन्ने कुरा फिल्ममा प्रस्तुत गरिएको छ । सुनीलकुमार थापाले निर्माण गरेको फिल्ममा सलोन बस्नेत, अर्पण थापा, रवीन्द्र झा, सरोज खनाललगायतका कलाकारले पनि अभिनय गरेका छन् ।

०५८ सालमा सुनीलकुमारले शिव रेग्मीको निर्देशनमा ए मेरो हजुर फिल्म निर्माण गरेका थिए । सो फिल्ममा झरना र श्रीकृष्ण श्रेष्ठ मुख्य भूमिकामा थिए । गत वर्ष झरनाले ए मेरो हजुर–२ बाट आफूलाई निर्देशकमा बढुवा गरिन् । कथा र कलाकार नदोहोर्‍याइएको ए मेरो हजुर–३ पनि नामको मात्र सिक्वेल हो । 

त्यसैगरी, नवनिर्देशक सम्राट शाक्य निर्देशित यात्राले पनि दर्शकको मन जितिरहेको छ । अभिनेता तथा निर्माता केशव भट्टराईले सुशील पोखरेललगायतका निर्मातासँगको सहकार्यमा निर्माण गरेको यात्रामा अर्का युवा स्टार सलिनमान बानियाँ, मलिका महत, सलोन बस्नेत, राजाराम पौडेल, धीरेन शाक्यलगायतले अभिनय गरेका छन् । 

कलेजको प्रोजेक्ट वर्कका लागि यात्रामा निस्किएका क्लासमेटहरूले विकट स्थानमा एउटी दृष्टिविहीन टुङ्नावादक गायिका भेट्छन् । उनको स्वरबाट प्रभावित भई करिअर अघि बढाउन उनीहरूले सहयोग गर्छन् । यही उतारचढावमा फिल्म अघि बढ्छ । नयाँपत्रीका 

प्रतिक्रिया दिनुहोस