अमेरिकाको लुइसियानामा १ सय पटकभन्दा बढी बालबालिकामाथि बलात्कार तथा यौन शोषण गरेको आरोपमा एक ७१ वर्षीय व्यक्ति पक्राउ परेका छन् । कयौँ दशकअघि गरेको कुकृत्यबारे एक पीडितले उजुरी दिएपछि पाइनभिल्लेका हार्भे जेसेफ फाउन्टेन पक्राउ परेका हुन् ।
अनुसन्धानकर्ताहरुले उजुरीबारे तथ्य संकलन गर्दा फाउन्टेनले अन्य बालबालिकामाथि पनि यौनशोषण गरेको फेला परेको थियो । उनलाई उजुरी दिएको आठ दिनपछि गत अप्रिल ९ मा पक्राउ गरिएको थियो । प्रहरी अधिकारी स्टेफेन फिलिप्सका अनुसार सबै घटनाहरु सन् १९७० र १९८० को बीचमा घटेका थिए । सबै पीडितहरु १३ वर्षमूनिका थिए ।
फिलिप्सले पीडित बालबालिकाको संख्या अहिले नै खुलासा गर्न नमिल्ने बताउँदै यसबारे थप अनुसन्धान भइरहेको बताए । सबै घटनाहरु फाउन्टेन बस्ने पाइनभिले क्षेत्रमा भएको प्रहरीको भनाई छ ।
जमानत रकम १० लाख अमेरिकी डलर राखेर फाउन्टेनलाई हिरासतमा राखिएको छ ।
प्रतिक्रिया दिनुहोस