‘ए मेरो हजुर ३’ को बम्पर ओपनिङ, देशैभर हाउसफुल

शनिबार, ३० चैत्र २०७५, ११ : ०६
‘ए मेरो हजुर ३’ को बम्पर ओपनिङ, देशैभर हाउसफुल

काठमाडौँ । यस वर्ष नेपाली फिल्मका लागि खासै सुखद रहन सकेन । तीन फिल्म सुपरहिट हुन सफल हुँदा आधा दर्जन फिल्मले जेनतेन लगानी उठाए । बाँकी ८५ बढी फिल्मले लगानी त टाढाको कुरा पोस्टरको पैसा समेत उठाउन सकेनन् । फिल्मकर्मीबीच नेपाली फिल्मको व्यापार ओरालो लाग्न थालेको र दर्शक हराएको चर्चा भइरहँदा शुक्रवार प्रदर्शनमा आएको फिल्म ‘ए मेरो हजुर ३’ ले भने केही आशा देखिएको छ । पहिलो दिन बक्सअफिसमा फिल्मले आक्रामक सुरुवात गरेको छ । 
 
करीब ६ महिनादेखि सुस्त रहेको फिल्मको व्यापार केही हदसम्म भए पनि चलायमान बनाउन यो फिल्म सफल देखिएको छ । पहिलो दिन फिल्मले बम्पर ओपनिङ गरेको वितरक मनोज राठी बताउँछन् । उनले फिल्मको 'फस्ट डे' अकुपेन्सी 'छक्का पञ्जा ३' कै आसपास रहेको दाबी गरे । उनी भन्छन्, 'फिल्मले नसोचेको ओपनिङ गरेको छ । सिंगल स्क्रिनसँगै मल्टीप्लेक्स कहीँ कतै बिहानदेखि दर्शकको उपस्थिति न्यून देखिएन । यो 'छक्का पञ्जा ३' पछिकै बम्पर ओपनिङ हो ।' 

मध्यमवर्गीय दर्शकको अत्याधिक चाप रहने राजधानीका गोपीकृष्ण, अष्टनारायण, गुण, गंगालगायतका हल बिहानैदेखि हाउसफुल रहेको वितरक राठीको भनाई छ । मल्टीप्लेक्स क्यूएफएक्स चेनमा मात्र फिल्मको अकुपेन्सी बिहानदेखि ८० प्रतिशतमाथि रहेको उनी बताउँछन् । राठी अगाडि भन्छन्, 'राजधानीभित्र मात्र होइन मोफसलमा पनि फिल्म चलेको हल अधिकांश दर्शकले भरिभराउ भए । फिल्मले पहिलो दिन देशभर ८०/८५ को आसपासमा ओपनिङ अकुपेन्सी कायम गरेको छ ।'
 
उनी फिल्मको इनिसियल बक्सअफिस आक्रामक हुनुको पछाडि फ्रेन्जाइज भ्यालुलाई मान्छन् । फिल्मले भोली शनिबार र नयाँ वर्षको दिन आइतबार पहिलो दिनको तुलनामा चार गुणा राम्रो व्यापार गर्ने उनको विश्वास छ । पहिलो दिन नै फिल्मले आक्रामक सुरुवात गरेपछि मल्टीप्लेक्सहरुले आइतबारबाट सोजमा पनि वृद्धि गरेका छन् । सिंगल थिएटरहरु पनि बिस्तारै बढ्ने राठी बताउँछन् । उनले फिल्मको पहिलो दिने कलेक्सन शनिबार थाहा हुने बताए । 
 
फिल्म 'क्याप्टेन' ले अपेक्षाकृत ओपनिङ गर्न चुकेपछि धेरैले अभिनेता अनमोल केसीको स्टारडममाथि प्रश्न उठाएका थिए । ‘ए मेरो हजुर ३’ को बम्पर ओपनिङले उनको स्टारडममाथि शंका गर्नेलाई पनि गतिलै जवाफ फर्काएको छ । मध्यान्तरअघि दर्शकलाई हँसाउनकै खातिर राखिएको दोहोरो अर्थ जनाउने संवादका कारण भने फिल्मको राम्रै आलोचना भइरहेको छ । यद्यपि, दर्शकको ठूलो वर्गलाई भने फिल्म मनपरेको छ । समीक्षकबाट फिल्मलाई मिश्रित प्रतिक्रिया मिलेको छ । 
 
फिल्म हेर्ने अधिकांश दर्शकले डेब्यू गर्ल सुहाना थापाको तारिफ गरेका छन् । झरना थापा निर्देशित फिल्मलाई सुनिल कुमार थापाले निर्माण गरेका हुन् । निर्देशक थापा र सुमन पौडेलको कथा रहेको फिल्ममा सञ्जय लामाको छायांकन र हिमाल केसीको द्वन्द्व निर्देशन छ । कविराज गहतराज, रामजी लामिछाने, प्रविन सिंह र राहुल शाहको कोरियोग्राफी रहेको फिल्ममा दिर्घ खड्काले सम्पादन गरेका छन् । सलोन बस्नेत, अर्पण थापा, सरोज खनाललगायतका कलाकारहरुको पनि यसमा अभिनय छ । 

प्रतिक्रिया दिनुहोस