अमेरिकाद्वारा इरानी सेनालाई आतंककारी संगठन घोषणा

एजेन्सी

मंगलबार, २६ चैत्र २०७५, १६ : ३५
अमेरिकाद्वारा इरानी सेनालाई आतंककारी संगठन घोषणा

- बीबीसी
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानको रिभोल्युशनरी गार्ड कर्प्स (आइआरजीसी) लाई विदेशी आतंककारी संगठन घोषित गरेका छन् । अमेरिकाले पहिलो पटक अन्य देशको सेनालाई आतंककारी संगठन घोषणा गरेको हो ।

ह्वाइट हाउसले आइआरजीसीको नयाँ अर्थ निकाल्दै यसलाई ‘इम्पिमेन्टिङ इट्स ग्लोबल टेरोरिस्ट क्याम्पेन’ बताएको छ । ट्रम्पले जबदेखि इरानसँग अन्तरराष्ट्रिय परमाणु सम्झौता तोडेका छन् त्यतिबेलादेखि नै दुई देशबीच तनाव बढ्दो छ ।

अमेरिकाले आइआरजीसी र यससँग सम्बन्धित संस्थानलाई पहिलेदेखि नै आतंकवादलाई समर्थन गरेको र मानवाधिकारको उल्लंघनको आरोप लगाउँदै आएको छ । राष्ट्रपति ट्रम्पले सोमबार जारी आफ्नो बयानमा भनेका छन्, ‘विदेश मन्त्रालयको यो निकै ठूलो निर्णय हो । इरानले आतंकवादलाई बढाउन सहयोग गर्नुका साथै आइआरजीसी पनि यसमा सक्रिय रुपमा संलग्न छ । ’

ट्रम्पले उक्त घोषणापछि इरानमाथि निकै ठूलो दबाब हुने बताएका छन् । उनले भने, ‘यदि तपाईं आइआरजीसीसँग सम्बन्धित हुनुहुन्छ भने तपाईं आतंकवादलाई समर्थन गरिरहनुभएको छ ।’

अमेरिकी विदेशमन्त्री माइक पोम्पियोले यसको प्रभाव देखिन एक हप्ताको समय लाग्ने बताएका छन् । उनले भने, ‘जबसम्म इरान एक सामान्य देशले झैं व्यवहार गर्न सुरु गर्दैन तबसम्म प्रतिबन्ध र दबाबको रणनीति जारी रहनेछ ।’

पोम्पियोले भने, ‘इरानका नेता क्रान्तिकारी होइनन् । यहाँका जनता सुधारिएको जीवन चाहन्छन् । यहाँका नेता मौकापरस्त छन् । हामी त्यहाँका जनतालाई मद्दत गरिराख्ने छौं ।’

सन् १९७९ को इरानी क्रान्तिपछि रिभोल्युशनरी गार्डको गठन गरिएको थियो । यो इरानका सर्वोच्च नेता अयातुल्ला खुमैनीको निर्णय थियो ।

रिभोल्युशनरी गार्डको उद्देश्य नयाँ सत्ताको सुरक्षा र सेनासँग सत्ता सन्तुलन स्थापित गर्नु थियो । इरानमा शाहको पतनपछि सत्तामा आएको नयाँ सरकारले एउटा यस्तो फौजको आवश्यकता ठान्यो जसले नयाँ व्यवस्था र क्रान्तिको उद्देश्यको रक्षा गर्न सकोस् ।

त्यसपछि एउटा नयाँ कानूनको मस्यौदा तयार गरियो जसमा नियमित सेनालाई देशको सीमा र आन्तरिक सुरक्षाको जिम्मा दिइयो भने रिभोल्युशनरी गार्डलाई नयाँ व्यवस्थाको रक्षाको काम दिइयो ।

तर दुबै सेना एकअर्कासँग ठोक्किरहे । उदाहरणका लागि रिभोल्युशनरी गार्ड कानून र व्यवस्था लागू गर्नमा मद्दत गर्दछ र सेनाले नौसेना र वायुसेनालाई लगातार सहयोग गरिराख्छ ।
समयसँगै रिभोल्युशनरी गार्ड इरानको फौजी, राजनीतिक र आर्थिक शक्ति बन्यो ।
 

प्रतिक्रिया दिनुहोस