बक्यौता नतिरेका २७ वटा फर्म सञ्चालकहरुको सम्पत्ति रोक्का

तीन सय करदाताको वक्यौता रु २१ करोड ७० लाख

सफल खबर संवाददाता

मंगलबार, १९ चैत्र २०७५, १३ : १३
बक्यौता नतिरेका २७ वटा फर्म सञ्चालकहरुको सम्पत्ति रोक्का

चितवन l आन्तरीक राजस्व कार्यालय भरतपुरले लामो समयदेखि बक्यौता नतिरेका २७ वटा फर्म सञ्चालकहरुको सम्पत्ति रोक्का तथा लिलाम प्रकृया अघि बढाएको छ ।

कार्यालयका कर अधिकृत त्रिबिक्रम तिमिल्सीनाका अनुसार ती करदाताहरुको बैंकीङ् तथा बित्तिय कारोवार रोक्का गरेकोमा हालसम्म उक्त वक्यौता फरफारक नगरेको हुँदा अन्तिम तहको कारवाहीस्वरुप सम्पत्ति रोक्का तथा लिलाम प्रकृया सुरु गरिएको हो । उहाँका अनुसार ती करदाताको बक्यौता अशुलिका लागि टेलिफोन, पत्राचार, स्थलगत भ्रमण, ताकेता पत्र, सार्वजनिक सुचना प्रकाशित गरी बैंक खाता रोक्का गरि सकिएको छ ।

बक्यौता नतिर्ने मुल्य अभिबृद्धि करतर्फका करदातामा जय सालासर ट्रेडिङ्ग, सि डव्लु ई ग्लोवल ज्वाईन्ट भेन्चर, पूर्ण स्टोर्स, त्रिशुल फुड्स प्रा.ली., आर के सप्लायर्स, एमएल क्षेत्र एण्ड सन्स कन्ट्रक्सन्स, भरतपुर व्रदर्श कन्ट्रक्सन र श्रेष्ठ सप्लायर्स एण्ड सोलुसन्स प्रा. ली. रहेका छन् ।

त्यसैगरी नवलपुर क्रशर उद्योग प्रा.ली. पावल निर्माण सेवा, फर्निचर एण्ड फर्निसिङ मार्क, नवरत्न कमर्सियल ईन्टरप्राईजेज, डाईनामिक टावेल, स्वस्तीक नेपाल प्रा.ली र नेशनल ढुवानी सेवा रहेका छन् । यस्तै आय करतर्फ नारायणी मैदा मिल्स, आर वि ईन्टरप्राईजेज, वज्रगुरु बिपि ईसान जेबि, प्रकाश टेडीङ् सेन्टर, एयर केयर ईन्टर प्राईजेज, श्रीशुभ मोर्टस, जलकन्या सप्लायर्स, युनाईटेड मोटर्स, श्रीजय भोले हार्डवय, मचान वाईल्ड लाईफ रिसोट, आर के सप्लायर्स र आस्था पेन्ट्स रहेका छन् ।

तिमिल्सीनाका अनुसार मुल्य अभिवृद्धि करतर्फका १५ करदाताको रु १२ करोड १२ लाख वक्यौता छ । आयकरतर्फ १२ करदाताको रु ३ करोड ३३ लाख वक्यौता रहेको छ । कार्यालय प्रमुख शुबप्रसाद रिजालका अनुसार मुल्य अभिबृद्धि करमा दर्ता भई रु १ लाखभन्दा माथि वक्यौता रहेका तीन सय करदाताको वक्यौता रु २१ करोड ७० लाख रहेको छ । आयकरतर्फ सबैको बक्यौता रु १५ करोड ३३ लाख रहेको उहाँले बताउनु भयो ।

बि. संं. २०४० साल यताको वक्यौता थप हुँदै गएको हो । रिजालले कार्यालयले आफ्नो प्रकृया अन्तर्गत बक्यौता अशुलिका लागि ताकेता गर्दा बेवास्ता गरेपछि अन्तिम कारवाहीस्वरुप सम्पत्ति रोक्का तथा लिलाम प्रकृया अघि वढाएको बताउनु भयो ।

कार्यालयका सुचना अधिकारी धनेश्वर अर्यालले वक्यौता अशुलिमा कार्यालय तिब्र गतिमा लागेको बताउनु भयो । उहाँका अनुसार कार्यालयले चालु आर्थिक वर्षको फागुन मसान्तसम्ममा रु १७ अर्ब ५६ करोड १४ लाख ९९ हजार राजस्व संकलन गरेको छ । साउनयता फागुन मसान्तसम्ममा लक्ष्यको १०३ दशमलब ३७ प्रतिशत राजस्व संकलन गरेको हो । चालु आर्थिक वर्षको मसान्तसम्मका लागि रु ३० अर्ब १ करोड ३६ लाख ५३ हजार लक्ष्य तोकीएको छ ।  

कार्यालयमा आयकरतर्फ ५१ हजार ९ सय ८८ जना र मूल्य अभिवृद्धि करमा ८ हजार ४ सय ३५ करदाता रहेका छन् । यस्तै अन्तशुल्क करमा दर्ता भएका ५ हजार ८० करदाता रहेका छन् । कार्यालयले चितवन र नवलपुर जिल्ला हेर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस