आज पूर्वप्रधानमन्त्री प्रचण्ड राहत बाँड्न बारा र पर्सा जाँदै

सफल खबर संवाददाता

मंगलबार, १९ चैत्र २०७५, १० : ३५
आज पूर्वप्रधानमन्त्री प्रचण्ड राहत बाँड्न बारा र पर्सा जाँदै

काठमाडौं । नेकपा अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड राहत बाँड्नको लागि बारा र पर्सा जिल्ला जाँदै हुनुहुन्छ । प्रचण्ड आँधीहुरी प्रभावित बारा र पर्साको निरीक्षणमा निस्किन लाग्नुभएको प्रचण्डको सचिवालयले जनाएको छ । आँधुीहुरीले बारा र पर्साको अवस्था कष्टकर बनेपछि प्रचण्ड प्रभावित क्षेत्रको अवलोकनका लागि त्यसतर्फ जान लाग्नुभएको हो । 
आँधीहुरी प्रभावित क्षेत्रको अवस्था बुझ्न प्रचण्ड आज बिहान ११ बजे हवाई यात्रामार्फत त्यसतर्फ जानुहुने  प्रचण्डको सचिवालयले जनाएको छ । सचिवालयका अनुसार, प्रचण्डले हावाहुरी पीडितको अवस्थाबारे सुरुमा बारा पुगेर जानकारी लिनुहुनेछ । प्रचण्ड हावाहुरी प्रभावित पर्सा पनि जाने कार्यक्रम छ । 
यसअघि सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले हावाहुरी प्रभावित क्षेत्रको हवाई निरीक्षण गर्नुभएको थियो। ओलीपछि शीर्ष तहका नेता प्रचण्ड पनि निरीक्षणमा निस्किन लाग्नुभएको हो । यद्यपि, विभिन्न दलका भातृसंगठन सोमबार नै राहत तथा उद्धारका लागि प्रभावित क्षेत्र पुगिसकेका छन् । वाइसियलले संकलन गरेको राहत प्रचण्डको हातबाट वितरण गर्ने कार्यक्रम पनि तय भएको सचिवालयको भनाइ छ ।
गृह मन्त्रालयको पछिल्लो जानकारी अनुसार, हालसम्म २७ जनाको ज्यान गइसकेको छ । कैयन घाइतेको विभिन्न अस्पतालमा अहिले उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस