स्पष्ट नियमन गर्ने कानुनको अभावमा सुनचाँदी व्यवसाय अन्यौलमा

सुनको कोटा प्रणाली खारेजीको माग

सफल खबर संवाददाता

आइतबार, १७ चैत्र २०७५, २१ : २४
स्पष्ट नियमन गर्ने कानुनको अभावमा सुनचाँदी व्यवसाय अन्यौलमा

अमिर रामदाम

बुटवल । वार्षिक ५० अर्बको कारोबार हुने र राज्यलाई वार्षिक ८ अर्बको योगदान दिएका सुनचाँदी व्यवसायीहरुको लागि स्पष्ट नियमन गर्ने कानुनको अभावमा व्यवसाय अन्यौलमा रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मोहन कुमार सुनारले बताएका छन् ।
महासंघको छैठौं वार्षिक साधारणसभाको पूर्व सन्ध्यामा आईतबार बुटवलमा आयोजना भएको पत्रकार सम्मेलनमा पत्रकारहरुसंग कुराकानी गर्दै सुनारले सो कुरा बताएका हुन् । उनले सरकारसंग यथाशक्य चाँडो व्यवसाय मैत्री कानुन बनाउन माग गरेका छन् । उनले ओजीएल प्रणालीबाट सुनको आयात खुल्ला गर्न माग गरेका छन् ।
‘खुला बजारमा बन्देज आवश्यक छैन,’ अध्यक्ष सुनारले भने, ‘कोटा प्रणालीले बजार सुनचाँदीको बजार अस्तव्यस्त भयो । माग बढ्दा बजारमा चलखेल पनि भयो । यस्तो प्रणालीलाई हटाएर खुला प्रतिस्पर्धाका आधारमा अब सुन खरिद गर्ने व्यवस्था राज्यले मिलाउनुपर्छ ।’ उनले थपे, ‘सुनको आपूर्तिमा परिमाणात्मक बन्देजका कारण विभिन्न विकृतिहरूले स्थान पाए । आयात गर्ने आधिकारिक बैंकहरूलाई मात्र दिँदा अन्य कम्पनी, फर्महरूको अधिकार कटौती भयो ।’
महासंघले प्रत्येक प्रदेशमा स्थापना गर्ने तयारी गरिएका तालिम केन्द्रमा सहयोग गर्न, व्यवसायमा सुरक्षाको दरिलो आधार बनाउन, सुनचाँदीका गरगहना निर्यातका लागि सरल नीति निर्माण र अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणीकरणका लागि छिटो भन्दा छिटो हलमार्किङ् व्यवस्था कार्यान्वयन गर्न अध्यक्ष सुनारले सरकारसंग आग्रह गरेका छन् ।
अहिले नेपालमा नेपाल राष्ट्र बैंकले दैनिक २० किलो सुन व्यवसायीलाई आपूर्ती गर्दै आएको छ । तर व्यवसायीले भने दैनिक ३० देखि ३५ किलो सम्म बजार माग रहेको बताएका छन् । बजार माग अनुसार सरकारले पूर्ती नगरेका कारण बजारमा विभिन्न खाले चलखेल भईरहेको महासंघका वरिष्ठ उपाध्यक्ष माणिकरत्न शाक्यले जीकिर गरे ।
सरकारका तर्फबाट बैंक तथा बित्तिय संस्थाहरुले आयात गर्ने र बिदेशमा काम गरेर फर्किँदा व्यक्तिगत प्रयोजनका लागि ल्याउने सुनको भन्सार शुल्कमा एक रुपता ल्याउन महासंघको माग छ । अहिले झिटीगुन्टा भारीको प्रावधान अनुसार ५० ग्रामसम्म गरगहना ल्याउँदा भन्सार छुटको व्यवस्था छ । त्यसको अलवा ५० ग्राम सुन ल्याउँदा प्रति १० ग्रामको ५ हजार २ सय र थप ५० ग्राम अर्को ल्याउँदा प्रति १० ग्राम ६ हजार २ सय रुपैंया भन्सार बुझाउनु पर्छ । तर बैंकहरुले सुन ल्याउँदा प्रति १० ग्राममा ४ हजार २ सय मात्रै भन्सार शुल्क लाग्ने भएका कारण बजारमा सुनको मुल्यमा एक रुपता नहुने बताउँदै महासंघले भन्सार शुल्कलाई एकरुपता गर्न माग गरिएको महासंघका प्रवक्ता मनोजकुमार शाहले बताए ।
मुलुकभर करिव २ लाख व्यबसायीले सुनचाँदी व्यबसाय गर्दै आएको र २० हजार कालिगढ काम गर्दै आएका छन् । त्यसमध्ये ७५ प्रतिशत कालिगढ बिदेशी रहेको महासंघले जनाएको छ ।
सोमबारदेखि रुपन्देहीको मणिग्राममा हुने साधारण सभाको अर्थमन्त्री डा. युवराज खतीवडाले उद्घाटन गर्ने कार्यक्रम तय गरिएको नेपाल सुनचाँदी व्यबसायी संघ रुपन्देहीका अध्यक्ष एम.बि बिश्वकर्माले बताएका छन् । दुई दिनसम्म चल्ने साधारण सभामा ६१ जिल्लाका सुनचाँदी व्यवसायीको सहभागिता रहने छ ।

प्रतिक्रिया दिनुहोस