स्वर्गीय राजा वीरेन्द्रको सम्पत्ति भाडामा, कौडीको मूल्यमा

सफल खबर संवाददाता

आइतबार, १७ चैत्र २०७५, १५ : ०५
स्वर्गीय राजा वीरेन्द्रको सम्पत्ति भाडामा, कौडीको मूल्यमा

काठमाडौं  ।
गुणग्राही जहाँ छैन वहाँ के गरला गुणी ।
कौडीमा तक मिल्किन्छ भिल्लका देशमा मणि ।।

कवि शिरोमणि लेखनाथ पौड्यालले ‘नैतिक दृष्टान्त’मा भनेजस्तै भएको छ, पूर्वराजा स्व.वीरेन्द्र शाहलगायत राजपरिवारका नाममा रहेको अर्बौंको सम्पत्तिको अवस्था । न त गुणी भए, न गुणग्राही नै ! त्यसैले मणि पनि कौडीको भाउमा मिल्काइएको अवस्था छ ।

स्वर्गीय राजा वीरेन्द्र शाहलगायत राजपरिवारको नाममा रहेको अर्बौंको सम्पत्ति जिम्मेवार निकाय ‘नेपाल ट्रष्ट’को भद्रगोल व्यवस्थापनका कारण कौडीको भाउमा ‘खेर’ गइरहेको छ । ६ मंसिर २०६४मा नेपाल ट्रष्टको स्थापना भएयता एक दशक लामो अवधिमा अर्बौंको सम्पत्तिको भाडा भने प्रचतिल बजार भाउ भन्दा एकदमै न्यून मात्र उठ्ने गरेको खुलासा भएको छ ।

सम्पत्तिको उपयोग नभएकोबारे महालेखा परीक्षकको गत बर्षको प्रतिवेदनले औंल्याए पनि अहिलेसम्म सरकारले कुनै चासो दिएको छैन । महालेख परीक्षकको कार्यालय प्रवक्ता विष्णुप्रसाद रिजालका अनुसार, भाडा तथा ‘लिज’मा दिएको सम्पत्तिको सम्झौताअनुसार प्रयोगकर्ता, भाडा (लिज रकम, दाखिला गर्नुपर्ने मिति, सम्झौता अवधि) लगायतका विवरण देखिने अभिलेख अद्यावधिक समेत ट्रष्टको कार्यालयले गरेको छैन ।

कौडीको मूल्यमा भाडा

अहिले नेपाल ट्रष्टको स्वामित्वमा आइसकेको राजपरिवारको नाममा रहेको सम्पत्ति प्रचलित मूल्यभन्दा एकदमै सस्तो रहेको पाइएको छ । नेपाल ट्रष्टको कार्यालय योजनाविहीन बन्दा काठमाडौंभित्रका महँगा–महँगा मानिएका सम्पत्ति विभिन्न नीजि संस्थाहरूले एकदमै सस्तो भाडामा प्रयोग गरिरहेका छन् ।

कसको भाडा कति ?

सम्पत्ति                                                क्षेत्रफल                                                  भाडा (वार्षिक)
गोकर्ण फरेस्ट रिसोर्ट                           ३९७१ रोपनी                                               २ करोड ४० लाख
काठमाडौं बिजनेश पार्क                       १९ रोपन १२ आना जग्गा र घर                       ७० लाख रुपैयाँ
काठमाडौं प्लाजा                                 ५ रोपनी २ अना जग्गा र कम्प्लेक्स                  ७५ लाख रुपैयाँ
लाजिम्पाट (स्ट्यान्डर्ड चार्टर्ड बैंक
भएको भवन तथा जग्गा)                       ६ रोपनी १३ आना जमिन र भवन                     ९४ लाख रुपैयाँ
सोल्टी आउटर कम्पलेक्स                     ५ रोपनी ६ आना जमिन र भवन                       १५ लाख ४५ हजार
 

कति छ राजपरिवारको सम्पत्ति ?

नेपाल ट्रष्टको स्वामित्वमा अहिले १२ जिल्लामा २ सय १६ कित्तामा २१ हजार ५ सय ६२ रोपनी जग्गा, तीन संस्थाको २ लाख ३० हजार १०२ कित्ता सेयर, ३७ करोड ७९ लाख ५० हजार रूपैयाँ मुद्दती खाताको मौज्दात, ४ बैंकको खातामा १ करोड ७३ लाख २८ हजार चल्ती तथा बचत मौज्दात छन् । यस्तै, पाउण्ड स्टर्लिङ ४८ हजार ४ सय ६६ र अमेरिकी डलर १ लाख ३७ हजार मौज्दात छ ।

 

 

प्रतिक्रिया दिनुहोस