उत्तर कोरियाको परमाणु अस्त्र परित्यागबारे ट्रम्प–किमबीच भियतनाममा के हुँदैछ कुरा ?

एजेन्सी

विहीबार, १६ फागुन २०७५, १३ : ०९
उत्तर कोरियाको परमाणु अस्त्र परित्यागबारे ट्रम्प–किमबीच भियतनाममा के हुँदैछ कुरा ?

बीबीसी । अमेरकी राष्ट्रपति डोनल्ड ट्रम्प र उत्तर कोरियाका नेत किम जङ-अनले भियतनाममा दोस्रो दिनको वार्ता थालेका छन् । यो वार्तामा उनीहरूबीच उत्तर कोरियाको परमाणुअस्त्र परित्यागबारे महत्त्वपूर्ण छलफल हुने बताइएको छ ।
गत वर्ष जुनमा सिङ्गापुरमा उनीहरूबीच पहिलो पटक शिखरवार्ता भएको थियो । तर त्यसपछि निरस्त्रीकरणको योजनामा कुनै उल्लेख्य काम भएको छैन ।

कुनै ठोस सहमति हुन्छ कि भनेर सबैले उत्सुकतापूर्क हेरिरहेका छन् ।
वार्ताअघि किमको उपस्थितिमा ट्रम्पले भनेका थिए, "हतार छैन । हामी उचित सम्झौता गर्न चाहन्छौँ ।"

किमले चाहिँ आफूलाई "राम्रो परिणाम" आउने लागेको बताएका थिए ।
दुई नेताहरूले कसरी कोरियाली प्राय:द्वीपबाट परमाणुअस्त्र हटाउने भनेर एउटा मार्गचित्रबारे छलफल गर्ने अपेक्षा गरिएको छ । उनीहरूले कोरियाली युद्ध समाप्त भएको घोषणा गर्ने वा दुई देशमा सम्पर्ककार्यालय स्थापनाको घोषणा गर्ने सम्भावना पनि रहेको छ ।

किन दोस्रो शिखरवार्ता ?
कटु टिप्पणीहरू गर्ने दुई नेताहरूबीच जुनमा सिङ्गापुरमा अभूतपूर्व भेटघाट भएको थियो । त्यहाँ उनीहरूबीच केही सहमति भएको भनिए पनि त्यो अमूर्त छ ।
अहिले दुई जनालाई नै वार्ताबाट उल्लेख्य प्रगति भएको सङ्केत दिनुपर्ने दबाव छ ।

आफूविरुद्ध लागेको आर्थिक नाकाबन्दी हटाउन उत्तर कोरियाले पहिला नि:शर्त परमाणुअस्त्र परित्याग गर्नुपर्ने धारणा वाशिङ्टनको थियो । तर उत्तर कोरिया त्यसमा सहमत छैन ।

किमसँगको वार्ताअघि ट्रम्पले पहिलो वार्ताको प्रगतिबारे व्यक्त भएका निराशातिर सङ्केत गर्दै भने, "मैले पहिलादेखि नै भन्दै आएको छु कि गति मेरा लागि त्यति महत्त्वपूर्ण छैन । पारमाणविक रकेट, क्षेप्यास्त्र आदिको परीक्षण नगरे म त्यसको प्रशंसा गर्छु ।"कि
मप्रति आफ्नो "ठूलो सम्मान" रहेको र आफूहरूबीच रहेको सम्बन्ध "धेरै बलियो" रहेको उनले बताएका छन् ।

के भने किम र ट्रम्पले?
वार्ताको सम्भावित परिणामबारे एक विदेशी पत्रकारले सोधेको प्रश्नको उत्तर दिँदै किमले भने, "अहिले नै भन्न चाँडो हुन्छ तर मलाई भित्रदेखि नै राम्रो परिणाम आउँछ भन्ने लागेको छ ।"
तर उनले "परमाणुपरित्याग"का लागि आफू तयार नभएको भए "अहिले म यहाँ हुन्नथेँ" भन्ने प्रतिक्रिया दिए ।

तीस मिनेटजति वार्ता भएपछि उनीहरू केही समय विश्राम लिएर हिँड्न बाहिर निस्किएका थिए ।
किमको उत्तर आउनासाथ ट्रम्पले भने, "यो तपाईँहरूले सुन्नुभएको सम्भवत: सबैभन्दा राम्रो उत्तर हो ।"
विश्लेषकहरूका अनुसार किमले केलाई "परमाणुपरित्याग" भनेका हुन् त्यो चाहिँ स्पष्ट छैन । किमले ट्रम्प र आफूलाई सँगसँगै देख्दा मानिसहरूलाई चलचित्र हेरिरहेकोजस्तो लाग्ने बताए ।

के उत्तर कोरियाले प्योङ्याङमा अमेरिकालाई आफ्नो सम्पर्क कार्यालय खोल्न अनुमति दिन्छ भन्ने प्रश्नमा आफू सकारात्मक भएको उत्तर दिए ।

ट्रम्पले पनि त्यसमा प्रतिक्रिया दिँदै दुईतर्फ नै त्यसो हुन सक्ने सङ्केत दिए । दुई देशबीच सम्वादका लागि कुनै सोझो बाटो छैन । सम्पर्ककार्यालयको स्थापना सम्बन्ध सुधारको पहिलो पाइला हुन सक्छ ।
युद्ध हुने धम्की दिँदै आएका दुई नेताहरू सन् २०१७ को अन्तिमतिर एकअर्काको आलोचना गरेका थिए ।
उत्तर कोरियाले गर्दै आएको अस्त्रपरीक्षणप्रति कटाक्ष गर्दै ट्रम्पले किमलाई "रकेट पुरुष" भनेका थिए भने किमले ट्र्म्पलाई "मानसिक स्थिति बिग्रिएको बूढो" भनेका थिए ।

प्रतिक्रिया दिनुहोस