ट्रम्प–किम दोस्रो शिखर वार्तामा ट्रम्पले किमको प्रशंसा गर्दै भने, ‘किम महान नेता’

एजेन्सी

बुधबार, १५ फागुन २०७५, १८ : २५
ट्रम्प–किम दोस्रो शिखर वार्तामा ट्रम्पले किमको प्रशंसा गर्दै भने, ‘किम महान नेता’

हनोइ । अमेरिका र उत्तर कोरियाबीचको दोस्रो शिखर सम्मेलन भियतनामको हनोइमा सुरु भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका नेता किम जोङ उनबीच भेटवार्ता सुरु भएको हो ।  किम मंगलरबार बिहान हनोइ पुगेका हुन् भने ट्रम्प मंगलबार राति पुगेका हुन् । उनीहरुबीचको वार्ता रात्रिभोजसहितको भएको बताइएको छ । 

दुई नेताहरुबीच शान्तिका लागि घोषणपत्रमा हस्ताक्षर हुने र अमेरिकाले नाकाबन्दी आंशिक रुपमा हटाउने लगायतका विषयमा सम्झौता हुन सक्नेछ । बिहीबार दिनभरी नै नेताहरु व्यस्त हुने जनाइएको छ । 
विहीबार पत्रकार सम्मेलन, सहमतिमा हस्ताक्षर जस्ता गतिविधि हुनेछन् । विभिन्न सञ्चारमाध्यमहरुले दुई नेताको भेटको प्रत्यक्ष प्रशारण गरिरहेका छन् । भेटमा ट्रम्पले उत्तर कोरियाको आर्थिक उन्नतिको अथाह सम्भावना भएको बताएका छन् भने उत्तर कोरियाली नेता किमले आपसी समस्या समाधानका लागि आफूहरु भियतनाममा भेला भएको बताएका छन् । ट्रम्पले किमलाई महान नेता भन्दै प्रशंसासमेत गरेका छन् । 

गत वर्षको सिंगापुर सम्मेलनमा दुवै प्रमुखबीच उत्तर कोरियाको निशस्त्रीकरणबारे भएको छलफलपछि त्यसैको प्रक्रियाबारे विस्तृत रुपमा पुनः छलफल गर्न यो दोस्रो भेटवार्ता आयोजना गरिएको हो ।

पहिलो सम्मेलन जसरी नै दुवैले एकअर्कालाई हाँस्दै स्वागत गरे । छोटो पत्रकार सम्मेलनका क्रममा ट्रम्पले पछिल्लो पटकको बैठक सफल भएको जनाउँदै किमसँग पुनः भेट हुनु आफ्ना लागि सम्मानको कुरा भएको उल्लेख गरेका छन् भने किमले यसको जवाफमा विभिन्न चुनौतिका बावजुद आफूहरुले दोस्रो सम्मेलनमा सफलतापूर्वक सहभागी हुन पाएकामा खुसी व्यक्त गरे । दुवैले एकअर्कासँग अत्यन्तै राम्रो सम्बन्ध रहेको बताउँदै तस्बिरका लागि हाँस्दै पोज दिए । साथै ट्रम्पले उत्तर कोरियाको उज्जवल भविष्यबारे समेत किमलाई वचन दिए । 
दुई दिन लामो यस दोस्रो शिखर बैठकमा दुवैले उत्तर कोरियाको निशस्त्रीकरणलाई कसरी अगाडि बढाउने भन्नेबारे विस्तृत छलफल गर्ने बताइएको छ । 
 

प्रतिक्रिया दिनुहोस