राष्ट्रियसभा चुनावका लागि सातै प्रदेशमा निर्वाचन अधिकृतको कार्यालय स्थापना

शनिबार, २९ पुस २०७४, १६ : ४७
राष्ट्रियसभा चुनावका लागि सातै प्रदेशमा निर्वाचन अधिकृतको कार्यालय स्थापना

काठमाडौं ।   निर्वाचन आयोगले राष्ट्रियसभा चुनावका लागि सातवटै प्रदेशमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ ।
निर्वाचन कार्यतालिका अनुसार आयोगले शनिबार सात वटै प्रदेशमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको हो । आयोगका प्रवक्ता नवराज ढकालका अनुसार, निर्वाचन अधिकृतको कार्यालयहरु प्रदेशको उच्च अदालत रहेको जिल्लाको सदरमुकाममा स्थापना गरिएको छ ।

प्रदेश नम्बर १ को मोरङमा, २ को धनुषामा, प्रदेश ३ को ललितपुरमा, प्रदेश ४ को कास्की, प्रदेश ५ को दाङ, प्रदेश ६ को सुर्खेत र प्रदेश ७ को डोटी जिल्लाको सदरमुकाममा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको आयोगले जनाएको छ ।
न्याय परिषद्को सचिवालयबाट प्राप्त नामावली अनुसार सात जना जिल्ला न्यायाधीशलाई आयोगले यसअघि नै निर्वाचन अधिकृतमा नियुक्त गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस