चेक बाउन्सको आरोपमा तेज एण्ड करण इन्टरप्राइजेजका मालिक पक्राउ

शनिबार, २९ पुस २०७४, १५ : ०८
चेक बाउन्सको आरोपमा तेज एण्ड करण इन्टरप्राइजेजका मालिक पक्राउ

काठमाडौं । प्रहरीले टेकुस्थित तेज एन्ड करण इन्टरप्राइजेजका मालिक तेजकरण जैनलाई ठगी अभियोगमा पक्राउ गरेको छ ।

महानगरीय प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरी टोलीले उनलाई बिहीवार टेकुबाट पक्राउ गरेको हो । आर्थिक करोबारका क्रममा उनले काटेका चेक बाउन्स भएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार उनले विभिन्न व्यक्तिलाई दिएका २० लाख, १२ लाख, २५ लाख ५० हजार र १० लाख रुपैयाँका चेक बाउन्स भएका छन् । वृत्त प्रमुख डिएसपी प्रदीपबहादुर क्षेत्रीले जैनले किभिन्न व्यक्तिलाई काटेका चेक बाउन्स भएपछि पक्राउ गरिएको बताए ।

प्रहरीका अनुसार जैन रिकन्डिसनका गाडी व्यापारी हुन् । यस क्रममा उनी पुराना गाडी सस्तोमा किन्ने र नयाँ बनाएर महँगोमा बेच्ने गर्छन् । गाडी खरिद बिक्रीको धन्दासँगै उनले सर्वसाधरणलाई ठग्दै आएको प्रहरीको भनाइ छ ।

बिक्रेतालाई खातामा रकम नभएको चेक तुरुन्तै काटिदिन्छन् । त्यही गाडी डेन्टपेन्ट गर्छन् । नयाँजस्तो बनाउँछन् । ग्राहक खोजेर बेचिदिन्छन् । त्यसबापत रकम तुरुन्तै लिन्छन् । तर, गाडी भने पास गरिदिँदैनन् । उनले धेरैलाई गाडी पास नगरेर झुलाइरहेको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस