लोकतन्त्र खतरामा पर्दैछ : नेता पौडेल

मंगलबार, १५ माघ २०७५, २० : २३
लोकतन्त्र खतरामा पर्दैछ :  नेता पौडेल

तनहुँ । नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले भ्रष्टाचारले लोकतन्त्र खतरामा पर्दै गएको बताउनुभएको छ ।

नेपाली काङ्ग्रेस जिल्ला कार्य समिति तनहुँले आज आयोजना गरेको कार्यकर्ता भेटघाटमा नेता पौडेलले भन्नुभयो, “भ्रष्टाचार मौलाउँदै गएकाले यसको न्यूनीकरण समयमै गर्न नसके लोकतन्त्र नै खतरामा पर्ने देखिएको छ ।”

“गिरिजाप्रसाद कोइरालाको स्मृतिमा तनहुँको खैरेनीटारमा स्थापना गरिएको जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्र हटाउने सरकारको निर्णयविरुद्ध बृहत् विरोध कार्यक्रमको आयोजना गर्नुपर्छ,” उहाँले भन्नुभयो, “यो सरकारलाई बेलैमा झक्झकाउन सकिएन भने लोकतन्त्र खतरामा पर्ने सङ्केत देखिएको छ ।”

“काङ्ग्रेस कार्यकर्ताको व्यवहारमा परिवर्तन गर्न सके पुनः काङ्ग्रेस जनताको मन जित्दै अघि बढ्न सक्छ,” उहाँले भन्नुभयो, “नेकाले समाजमा परिवर्तन हुने गरी काम काम गर्छ जनतालाई झुक्याएर होइन ।” अब चुनाव धेरै टाढा नरहेकाले काङ्ग्रेसको नेतृत्वमा सरकार आउन सक्ने सम्भावन रहेको चर्चा गर्दै उहाँले भन्नुभयो, “पहिलाकै स्थानमा पुग्न काङ्ग्रेसले कसरत गर्न आवश्यक छ ।” रासस

प्रतिक्रिया दिनुहोस