भरतपुर महानगरले बन्द गरायो मापदण्ड विपरित संचालित क्रसर उद्योगहरु

विहीबार, १० माघ २०७५, १५ : ३९
भरतपुर महानगरले बन्द गरायो मापदण्ड विपरित संचालित क्रसर उद्योगहरु

चितवन । मापदण्ड विपरित संचालित चितवनका चारवटा क्रसर उद्योगलाई भरतपुर महानगरपालिकाले बन्द गराएको छ । त्रिशूली नदी किनारका तीन वटा र भरतपुर–२१ कोे एउटा क्रसर उद्योग बन्द गराइएको हो ।
यसरी बन्द गराइएका उद्योगहरुमा मकवानपुर इन्जिनियरिङ तथा म्यानुफ्याक्चरिङ कम्पनी प्रालिले भरतपुर महानगरपालिका –२९ को जुगेडी बजारको क्रसर उद्योग, २९ नं. वडाकै भोर्लेस्थित महानगर बालुवा तथा क्रसर उद्योग रहेका छन् ।
त्यसैगरी कविलासको अस्फाल्ट उद्योग र भरतपुर महानगरपालिका २१ पार्वतीपुरमा रहेको भवानी विल्डर्स कन्ट्रक्सनमार्फत सञ्चालित अस्फाल्ट उद्योग सञ्चालनमा रोक लगाइएको छ । अस्फाल्ट उद्योगले गिटी र बालुवाको प्रसोधन गर्ने गरेको थियो ।
मापदण्ड विपरित सञ्चालन गरेको, इजाजत पत्र नलिएको कर नतिरेकाले क्रसर उद्योग बन्द गराईएको भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद सुवेदीले जानकारी दिनुभयो ।
‘कतिपय नारायणगढ मुग्लिन सडक निर्माणका नाममा, कतिपय दर्ता र कार्य्विधि विपरित चलेको देखियो’ सुवेदीले भन्नुभयो ‘महानगरले स्थानीय प्रहरी प्रशासनको सहयोगमा त्यस्ता उद्योग बन्द गराएको छ ।’
महानगरबाट प्राप्त पत्र अनुसार सम्बन्धित क्रसर उद्योगलाई बन्द गर्न आफूहरुले सूचीत गरे अनुसार बन्द भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख सुशीलसिंह राठौरले जानकारी दिनुभयो ।
भरतपुर महानगरको राजस्व टोलीले अनुगमनमा जाँदा इजाजत नलिएको, दर्ता नभएको र सिधै नदीबाट मालसामन उत्खनन् गरी प्रशोधन गरेको पाइएको महानगरले जनाएको छ ।
क्रसर सञ्चालन सम्वन्धी हालै तयार भएको प्रदेश कानुन अनुसार स्थानीय तहमा इजाजत नलिइ, कर नतिरी उद्योग चलाउन नपाउने व्यवस्था छ ।
नदीनालामा वर्षातको समयमा भारतीय सिमानाबाट तराइमा ५ सय मिटर, पहाडी क्षेत्रमा तीन सय मिटर, हाइटेन्सन लाइनबाट एकसय मिटर, घना वन निकुञ्ज, धार्मिक क्षेत्र आदिबाट दुइ किलोमिटर परमात्र नदीजन्य उत्खनन गर्न पाइने कानुनी व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस