बिक्री नभएको सुन्तलाबाट जाम बनाउन सिक्दै महिला

बुधबार, ०९ माघ २०७५, १५ : ००
बिक्री नभएको सुन्तलाबाट जाम बनाउन सिक्दै महिला

तनहुँ । तनहुँको भिमाद नगरपालिका–९ भानुमति सुन्तलाको पकेट क्षेत्र हो । यहाँबाट वाषिक रु एक करोडभन्दा बढीको सुन्तला निर्यात हुने गरेको छ । 

यहाँका कृषकले लगाएको सुन्तला व्यापारीले बोटमै पुगेर किन्ने गरेका छन् । कृषकसँग सुन्तला खरीद गरेर व्यापारीले विभिन्न जिल्लामा लगेर सुन्तला बिक्री वितरण गरिरहेका छन् । 

राम्रा–राम्रा सुन्तला व्यापारीले लगे पनि बिक्री नहुने खालका सुन्तला त्यसै छाडिन्छ । जुनपछि कुहिएर खेर जाने गरेको छ । धेरै समयपछि कुहिएको सुन्तला स्थानीयले पशुलाई खुवाउने गरेका छन् । 

सुन्तलाबाट जाम बनाउन सकिन्छ भन्ने जानकारी पाएपछि भने यहाँका महिलाले बिक्री नभएको सुन्तलालाई सदुपयोग गर्दै आम्दानीको स्रोत बनाउने लक्ष्य राखेका छन् । यहाँका महिलाले गाउँघरमै उत्पादन भएर बिक्री नभएको सुन्तलाबाट जाम बनाउने सीप सिक्न थालेका छन् । 

अतिप्रिय सामाजिक उद्यमी महिला सहकारी संस्था र नेपाल ख्रिष्टियन पाइमीले महिलालाई स्वरोजगारतर्फ उन्मुख गराउने उद्देश्यले सुन्तलाबाट जाम बनाउने सीप सिकाउन थालेको महिला सहकारी संस्थाका अध्यक्ष देवीमुक्तान आलेले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “सहकारीमा आबद्ध महिलालाई स्वरोजगार बनाउने उद्देश्यले गाउँघरमै रहेको सुन्तलाबाट जाम बनाउन सिकाएका हौँ ।” स्थानीयको उत्पादनको माग बढ्दै गएकाले सुन्तलाबाट जाम बनाएर बिक्री गर्न सके राम्रो आम्दानी गर्न सकिने उहाँको भनाइ छ । 

सहकारीले सुन्तलाबाट जाम बनाएर बिक्री गर्ने सोचसमेत राखेको छ । सहकारीका लेखा संयोजक सुमाया थापाले आगामी वर्षदेखि सहकारीले नै जाम बनाएर बिक्री गर्ने लक्ष्य राखेको जानकारी दिनुभयो । स्थानीय महिलालाई नेपाल ख्रिष्टियन समाज महिला समिति गण्डकीकी संयोजक शारदा गौतमले सुन्तलाबाट जाम बनाउने सीप सिकाउनुभएको छ । उहाँले केही समय अघि उक्त गाउँमा भ्रमणको क्रममा आउँदा व्यापारीले छाडेको सुन्तलालाई प्रयोग गरी जाम बनाउन सकिनेबारे छलफल गरेपछि यहाँका महिलाले त्यसतर्फ चासो दिएको बताउनुभयो । 

उहाँले भन्नुभयो, “सुन्तलाका बोटमुनि फालिएका सुन्तला कुहिएपछि बङ्गुरलाई खुवाउने गरिँदो रहेछ, यसबाट त जाम बनाउन सकिन्छ भनेपछि महिला दिदीबहिनीले चासो दिनुभयो ।” उहाँले फालिएको सुन्तलाबाट पनि राम्रो आम्दानी हुने भएकाले व्यावसायिकरूपमा जाम बनाएर बिक्री वितरण गर्न सकिने बताउनुभयो । 

सुन्तलाको रस, चिनी र कागतीको रस प्रयोग गरी जाम बनाउन सकिने र सुन्तलाको बोक्रा, रस, चिनी र कागतीबाट मार्वलेट बनाउन सकिन्छ । यसै वडाबाट यस वर्ष किसानले एक करोड बराबरको सुन्तला बिक्री गरेका छन् । यहाँ उत्पादित सुन्तला काठमाडौँ, नारायणगढ, वीरगञ्जलगायतका ठाउँसम्म बिक्री हुने गरेको स्थानीय महिला सपना शाहीले बताउनुभयो । 

विगत पाँच वर्षदेखि हेफर इन्टरनेशनल र नेपाल एकीकृत ग्रामीण विकास केन्द्रको साझेदारीमा सञ्चालित परियोजनाले महिलालाई उद्यमी बन्न र जागरुक बन्न उत्प्रेरणा जगाएको स्थानीय कृष्णकुमारी थापाले बताउनुभयो । (रासस)

प्रतिक्रिया दिनुहोस